रामपुर (पाल्पा) । सार्वजनिक जग्गा नागरिकको साझा सम्पत्ति भएपनि व्यक्तिगत रुपमा लाभ उठाउने कार्य भइरहेको छ । व्यक्तिगत प्रयोजनका लागि सार्वजनिक जग्गा हडपेर भोगचलन गर्ने कार्य कायमै छ ।
उद्यान, चौतारी, सडक, धार्मिकस्थल, ताल, पर्यटन विकास लगायतका विकास नागरिक हितका हुन् । यस्ता कार्यमा चासो र चिन्तन भने कमै हुने गरेका छन् । पाल्पाको रामपुर नगरपालिकाले नागरिक हित र नगरको विकासका लागि व्यक्तिले वर्षौदेखि भोगचलन गर्दै आएका सार्वजनिक जग्गा छुट्याएर विभिन्न संरचना निर्माणमा जोड दिएको छ ।
सार्वजनिक जग्गा संरक्षणका लागि नगर सरकार तदारुकताका साथ लागेको छ । नगरपालिकाले दशवटै वडामा रहेका सार्वजनिक जग्गा छुटट्टयाउने कार्य गरिरहेको छ । हाललाई सबैभन्दा ठूलो मानव वस्ती रहेको वडा नं ५ मा मिचिएका सार्वजनिक जग्गा नाप नक्साङ्कन गरेर छुट्याइएको छ ।
वडा नं ५ भित्र पर्ने मटेरी ठूलोटार, इलाका प्रहरी कार्यालय, सानीअमराई क्षेत्र, बहखोला, भम्बक आर्मिक्याम्प, सिमलघारी बसपार्क, नहरअफिस, आयुर्वेद अस्पताल क्षेत्रमा रहेका सार्वजनिक जग्गा छुट्याउने कार्य भएको छ । यी क्षेत्रलाई व्यवस्थित बनाउँदै लगिएको छ । व्यक्तिले सार्वजनिक जग्गा मिचेर भोगचलन गर्दै आएका जग्गा छुट्टयाएर पिल्लर गाड्ने, वृक्षरोपण, सडक, उद्यान निर्माण, सौन्दर्यकरण जस्ता कामहरु भइरहेको वडाध्यक्ष दुर्गाप्रसाद पोखरेलले बताए ।
“वर्षौदेखि व्यक्तिले भोगचलन गरेको जग्गा छुट्टयाएर काम गर्न निकै चुनौती झेल्नुप¥यो, सार्वजनिक जग्गा अधिकरण गरेर व्यक्तिले लाभ लिएको जग्गा अहिले नाप नक्साङ्कन गरेर राखिएको छ” वडाध्यक्ष पोखरेलले भने,–“नक्सा अनुसार काम गरिएको छ, यस कार्यमा स्थानीयसँग धेरै विवाद सामना गर्नुप¥यो, अहिले हाम्रो वडामा सार्वजनिक जग्गा अतिक्रमण गर्ने समस्या समाधान भएको छ ।”
मटेरी ठूलोटार क्षेत्रमा चारैतिर ३८ वटा पिल्लर गाडेर सार्वजनिक जग्गा छुट्टयाइएको छ । इलाका प्रहरी कार्यालय, रामतुलसी नमुना माविको खेलमैदान र व्यक्तिको विवादित बनेको जग्गा छुट्याएर वर्षौदेखि समस्या समाधानका लागि पिल्लर गाडेर राखिएको छ । इलाका प्रहरी कार्यालयको पश्चिम क्षेत्रमा रहेको भान्साघर परिसरसम्म सार्वजनिक जग्गा रहेको पाइएपछि अब सो क्षेत्रमा नयाँ स्थायी संरचना बनाउन नपाउने गरी पिल्लर गाडेर जग्गा छुट्याउने काम सकिएको वडाध्यक्ष पोखरेल बताउँछन् ।
व्यक्तिले अतिक्रमण गरेर प्रयोग गरेका सार्वजनिक जग्गालाई नाप नक्साङ्कन गरेर सो क्षेत्रमा अहिले मनोरञ्जन उद्यान, व्यायामशाला, सडक निर्माण तथा विस्तार, वृक्षरोपण जस्ता कार्य हुन थालेपछि रामपुरको स्वरुप फेरिदै गएको छ । रामपुर नगरपालिकाले २०८० देखि सार्वजनिक जग्गा संरक्षण अभियान थालेको हो । नगरपालिकाले बजेट नै विनियोजन गरेर यो कार्य गरिरहेको छ । नगरपालिकाले पहिलो र दोस्रो वर्ष रु पाँच÷पाँच लाख, ५ नम्बर वडा कार्यालयले वडा भित्रका सार्वजनिक जग्गा छुट्याउनका लागि पहिलो वर्ष रु एक लाख रकम विनियोजन गरेर काम गरेको वडाध्यक्ष पोखरेलले जनाए ।
नगरले राष्ट्रिय गौरवका योजनाबाट सार्वजनिक जग्गा छुट्याउने कार्य थालनी गरेको नगर प्रमुख रमणबहादुर थापाले बताए । नगर गौरवका योजना चलेका स्थानमा व्यक्तिले हडपेका सार्वजनिक जग्गामा बनेका संरचना हटाएर पर्यटन विकास, बालउद्यान, खेलमैदान स्तरोन्नती गर्दै सौन्दर्यकरण गर्दै लैजाने नगर प्रमुख थापा बताउँछन् ।
“कोही व्यक्तिले पनि व्यक्तिगत रुपमा आफूलाई लाभ लिने उद्धेश्यले सार्वजनिक जग्गा अतिक्रमण गर्न पाइदैन, त्यस्ता जग्गा पहिचान गरेर नगरपालिकाको हित हुने र सर्वसाधारण, समुदायले प्रत्यक्ष लाभ लिने खालका पूर्वाधार विकास गर्दै जानेछौँ, सार्वजनिक जग्गा छुट्याउने कार्यलाई नगरले जोड दिएको छ” नगर प्रमुख थापाले भने ।
रामपुरभित्र रहेका सार्वजनिक र निजी जग्गा छुट्याउनुपर्ने र त्यसलाई वर्गीकरण गरी सार्वजनिक जग्गा संरक्षण गरिनुपर्ने नगरबासीको माग अनुसार काम भइरहेको छ । सार्वजनिक जग्गा संरक्षण अभियानमा नगरबासीले साथ दिएका छन् । पहिले नै गर्नुपर्ने काम नगर्दा अहिलेको अवस्थामा सार्वजनिक जग्गा संरक्षण गर्न अप्ठ्यारो परेको छ ।
रामपुरमा तत्कालीन गाउँ पञ्चायत, गाउँ विकास समितिले जग्गा बिक्री गर्न थालेपछि सार्वजनिक जग्गा व्यवस्थापनमा चुनौती थपिदै आएको थियो । रामपुर नगर सरकारले भने थालनी यस कार्यले समाजमा राम्रो प्रभाव पारिरहेको छ ।
Comments are closed.