रामपुर (पाल्पा) । चाडपर्वलाई लक्षित गरी रामपुर नगरपालिकाको मुख्य बजार बेझाडमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।नेपालीहरुको महान पर्व बडादशैं, शुभदिपावली, छठ लगायतका पर्वको अवसरमा हुने यात्रुको चापलाई मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय रामपुर र अस्थाई ट्राफिक प्रहरी पोष्ट रामपुरले यात्रु सहायता कक्ष स्थापना गरेको हो ।
यातायात व्यवसायी, जनप्रतिनिधी र स्थानीय सरोकारवालाको उपस्थितिमा कार्यक्रम गरी बेझाँड बजार चोकस्थित प्रहरी बिटमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । रामपुरसँगै पाल्पाको तीन स्थानमा हेल्पडेक्स स्थापना गरिएको छ । कार्यक्रममा इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख उदयराज भट्टराईले पर्वको अवसरमा यात्रुको चाप हुने भएकाले सुरक्षित साथ गन्तव्यमा पुग्न तथा समस्याको समयमै समाधान गर्न सहायता कक्षले सहयोग गर्ने बताए । यात्रासँगै बजारमा सामान किनमेलको क्रममा कहीँ कतैबाट ठगी भएको पाइएमा प्रहरी र प्रशासनमा खबर गर्न उनको आग्रह छ ।
रामपुर ५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेलले यात्रुलाई सहज रुपमा यात्रा गर्न पाउने वातावरण निर्माणमा सहायता कक्षले सहयोग गर्ने बताए । विगतका समयमा टिकटमा समस्या देखिएको स्मरण गराउँदै यातायात व्यवसायीलाई यात्रुको लागि सहज रुपमा व्यवस्थापन गर्न उनको अनुरोध छ । नेपाल मुस्लिम संघका केन्द्रीय उपाध्यक्ष हजुल दिन मियाँले सवारीको चापसँगै ट्राफिक नियम पालनामा ध्यान नदिदा सडक दुर्घटनाको जोखिम हुने भएकाले न्यूनिकरणका लागि विशेष ध्यान दिनु आवश्यक रहेको बताए ।
नमस्ते रामपुर यातायात प्रा.लि.का अध्यक्ष राजन पोखरेलले यात्रुलाई आवश्यक सहयोग लिन सहायता कक्षले महत्वपूर्ण सहयोग गर्ने बताएका छन् । रामसीता रामपुर यातायात प्रालिका सचिव प्रकाश ज्ञावलीले यात्रालाई सहज बनाउन यात्रु सहायता कक्ष प्रभावकारी हुने र चाडपर्वमा मात्र नभई अन्य समयमा पनि कायम राख्नुपर्नेमा जोड दिए । कार्यक्रममा यातायात व्यवसायीले चाडपर्वलाई मध्यनजर गर्दै यात्रुलाई सहज रुपमा सेवा दिनका लागि प्रतिवद्ध रहेको बताएका छन् ।
इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक रामबहादुर नेपालीले चाडपर्वको समयमा यात्रुको चाप बढी हुने भएकाले बढी भाडा लिने, गन्तव्यमा नपुग्दै ओरालीदिने, क्षमताभन्दा बढी यात्रु चढाउने, यात्रुको सामग्री हराउने र गन्तव्यमा पुग्ने सवारीको बारेमा ज्ञान नहुने जस्ता समस्यामा देखिने भएकाले समस्या समाधानका लागि यात्रु कक्षबाट सहजिकरण हुने जानकारी दिए । उनले ट्राफिक नियमको पालना गरेर सवारी साधन चलाउन आग्रह गरे । यात्राको क्रममा कुनै समस्या देखिएमा सहायता कक्ष र प्रहरीमा सम्पर्क गर्न उनको अनुरोध छ । कार्यक्रमको सञ्चालन प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठले गरेका हुन् ।
चाडपर्वको समयमा यात्रुलाई हुन सक्ने समस्या समाधानका लागि जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले यसवर्ष तानसेनको बसपार्क, रामपुरको बेझाड र सिद्धार्थ राजमार्ग अन्तर्गत दोभानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जिल्लाको मुख्य व्यापारिक केन्द्र र राजमार्गलाई लक्षित गर्दै तीन स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको जानकारी दिए ।
Comments are closed.