गाडी किन्न ८० प्रतिशत ऋण दिन बैंकलाई राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत भदौ २३ र २४ गतेको जेन जी आन्दोलनबाट क्षति पुगेकालाई सवारी साधन किन्न ८० प्रतिशतसम्म कर्जा दिन बैंकलाई निर्देशन दिएको छ ।

राष्ट्र बैंकले शुक्रबार बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो । राष्ट्र बैंकका अनुसार यो सुविधा आन्दोलनबाट प्रत्यक्ष क्षति पुगेका उद्योग वा व्यावसायिक प्रतिष्ठानले मात्र पाउनेछन् । सो अनुसार अब उद्योग वा व्यावसायिक प्रतिष्ठानले नयाँ सवारी साधन किन्न ८० प्रतिशतसम्म ऋण पाउने भएका हुन् । अर्थात् अब नयाँ गाडी खरिद गर्दा २० प्रतिशत मात्रै डाउन पेमेन्ट गरे पुग्ने भएको छ ।

‘जेनजी आन्दोलनबाट प्रत्यक्ष रुपमा प्रभावित उद्योग तथा व्यावसायिक प्रतिष्ठानमा व्यावसायिक रुपमा प्रयोग भइरहेका सवारी तथा ढुवानीका साधन क्षति भई प्रतिस्थापन गर्न कर्जा प्रदान गर्दा ऋण मूल्य अनुपात (लोन टु भ्यालु रेसियो) ८० प्रतिशतसम्म कायम गर्न सकिने छ,’ राष्ट्र बैंकले भनेको छ ।

आन्दोलनबाट क्षति पुगेका बाहेक अन्य व्यक्ति वा संस्थाले नयाँ गाडी किन्दा भने लोन टु भ्यालू रेसियो हालकै ६० प्रतिशतको व्यवस्था यथावत राखिएको राष्ट्र बैंकले जनाएको छ । हालको व्यवस्था अनुसार सबै प्रयोजनका विद्युतीय सवारी साधन र निजी प्रयोजनका व्यक्तिगत सवारी साधन किन्न ६० प्रतिशतसम्म ऋण पाइन्छ । ४० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्छ ।

You might also like

Comments are closed.