रामपुर (पाल्पा) । अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर पाल्पाले बुधबार एकैदिन चारवटा सेवाकेन्द्रबाट साधारण सभाका लागि प्रतिनिधि चयन गरेको छ ।
रामपुर नगरपालिका–९ अर्भसिं, रामपुर–१० रामटार, रम्भा गाउँपालिका–५ ताँहु र निस्दी गाउँपालिका–५ ढुङ्गानावेशीमा सेवाकेन्द्र स्तरीय आयोजित कार्यक्रममा निर्णय प्रमाणितसहित प्रतिनिधि छनौट गरिएको हो ।
सहकारीले शुक्रबार केन्द्रीय कार्यालय तथा सहयोगी सेवाकेन्द्रमा आबद्ध शेयर सदस्यका लागि शहिद बहुमुखी क्याम्पसमा कार्यक्रम गर्ने तयारी गरेको छ । कात्तिक १ गते एकाइगत साधारण सभाबाट छनौट भएका प्रतिनिधि सदस्यको निर्णय प्रमाणितसहितको साधारण सभा संस्थाको आफ्नै सभाहलमा आयोजना हुने भएको छ ।
कार्यक्रमका अवसरमा सहकारीले प्रत्येक सेवाकेन्द्रमा नियमित बचतकर्ता, असल ऋणी, उत्कृष्ट शेयर खरिदकर्ता, उत्कृष्ट कारोवारी सदस्य, उत्कृष्ट वाल बचतकर्ता, सफल तथा नमुना व्यवसायी, उत्कृष्ट केन्द्र तथा उत्कृष्ट केन्द्र प्रमुखलाई पुरस्कार प्रदान गरिएको छ । साथै गत आर्थिक वर्षमा ७० वर्ष पूरा गरेका ज्येष्ठ शेयर सदस्यलाई सम्मान तथा पेन्सन भत्ता वितरण गरिएको छ ।
अहिलेसम्म सहकारीका १४२ जना ज्येष्ठ शेयर सदस्यले मासिक रूपमा भत्ता प्राप्त गर्दै आएका छन् । यसवर्ष सहकारीको विधान अनुसार सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति गठन तथा निर्वाचन हुने भएकाले सहकारीले सोहीअनुसार आफ्ना कार्यक्रम अगाडि बढाएको छ ।
रामटार सेवा केन्द्रमा भएको कार्यक्रममा प्रमुख अतिथि रामपुर–१० का वडाध्यक्ष तोयानाथ सारुले बचत गर्ने उत्पादन र बजारीकरणमा जोड दिए । संस्थाका सचिव ओमप्रकाश बस्यालको अध्यक्षताामा भएको कार्यक्रमको सञ्चालन रामचन्द्र ढुङ्गानाले गरेका हुन् ।
रु १ अर्ब २६ करोड वचत, १ अर्ब ५ करोड ऋण लगानी र १५ करोड ८३ लाख शेयर पुँजीसहित १ अर्ब ६४ करोड बराबरको पुँजी परिचालन गरी ३ करोड ४६ लाख ६१ हजार रुपैयाँ खुद नाफा गर्न सफल भएको जनाएको छ ।
गत असार मसान्तसम्म ११ हजार ४४० जना शेयर सदस्य आबद्ध रहेका छन् । सहकारीले पाल्पा जिल्लाभर वित्तीय सेवा विस्तार गर्दै आएको छ ।
Comments are closed.