काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा ३ अर्ब ३० करोड रुपैयाँ निक्षेप राख्ने भएको छ । केन्द्रीय बैंकले उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम निक्षेप राख्न लागेको हो ।
केन्द्रीय बैंकले सो रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने भएको छ । राष्ट्र बैंकले सो रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाले दिने ब्याजदर समेत उल्लेख गरेर लिन चाहेको रकम खुलाई गोप्य सिलबन्दीमार्फत पेस गर्न आह्वान गरेको छ ।
३ अर्ब ३० करोडमध्ये केन्द्रीय बैंकले वाणिज्य बैंकमा २ अर्ब ६४ करोड, विकास बैंकमा ४९ करोड ५० लाख र फाइनान्स कम्पनीमा १६ करोड ५० लाख रुपैयाँ निक्षेप राख्नेछ । यसरी निक्षेप राख्दा केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई विभिन्न शर्त पनि तोकेको छ ।
केन्द्रीय बैंकका लागि सो निक्षेप लिन बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पूरा भएको हुन पर्नेछ ।
Comments are closed.