काठमाडौं । ट्राफिक नियम उल्लङ्घन गर्नेलाई २४ घण्टे पूर्जी जारी गरिने भएको छ । ट्राफिक प्रहरीको पालना नगर्नेलाई कारबाही गर्दा ट्राफिक प्रहरीले २४ घण्टे पुर्जी जारी गर्न थालेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक सूचना जारी गर्दै हालका लागि सवारी चालकले कुनै ट्राफिक नियम उल्लङ्घन गरेमा २४ घण्टे पुर्जी जारी गरिने जानकारी गराएको हो ।
गत भदौ २३ र २४ भदौमा भएको प्रदर्शनका क्रममा यातायात व्यवस्था विभाग मीनभवनमा रहेको ईडीएलभीआरएसको सर्भर क्षतिग्रस्त भएपछि हाल ट्राफिक प्रहरीको अनलाइन कारबाही तथा सचेतना कक्षा रोकिन पुगेको छ । अनलाइन सिस्टम पुनः सञ्चालनमा नआउन्जेलका लागि ट्राफिकले भौतिक रुपमा चिट काट्न थालेको हो ।
‘ट्राफिक प्रहरीद्वारा सडक प्रयोग गर्ने सवारी चालकले कुनै किसिमको कसुर गरेमा उक्त विभागको प्रणाली सूचारु नभएसम्म सडकमा २४ घण्टे पूर्जी जारी गर्ने व्यहोरा जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ ।
Comments are closed.