पोखरा । पोखरामा क्रियाशिल पर्यटन सम्बद्ध सघसंस्थाहरूको छाता संगठन पोखरा पर्यटन परिषद्ले आफ्नो २५ औं वार्षिक साधारण सभा एक कार्यक्रमकाबीच सम्पन्न गरेको छ ।
साधारण सभाको परिषद्का संस्थापक अध्यक्ष एवम् सल्लाहकार अशोक पालिखेले दीप प्रज्वलन गरी उद्घाटन गरेका हुन् । संस्थापक अध्यक्ष पालिखेले परिषद् स्थापनाकालिन विविध पक्षबारे प्रकाश पार्दै यसको महिमा र गरिमा बढाउनुपर्ने बताए । पोखराको पर्यटनलाई लेकसाइडमा मात्रै सिमित नगरी यसको दायरालाई फराकिलो बनाउँदै लैजानुपर्नेमा उनले जोड दिए ।
पर्यटन क्षेत्र पोखराको आर्थिक गतिविधिको प्रमुख माध्यम बनेको बताउँदै उनले शान्ति सुव्यवस्थासँगै ढुक्कसँग आफ्नो व्यवसाय गर्ने कुराको सुनिश्चितता हुनुपर्ने आवश्यकता औंल्याए । पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष एवम् सल्लाहकार डम्बरबहादुर केसीले परिषद् सम्बद्ध १४ वटा संस्थाहरू एकतावद्ध हुँदै अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन् । फराकिलो सोँचका साथ एकआपसमा एकाकार बन्दै अघि बढेमा अपेक्षित उपलब्धि हासिल हुन सक्नेमा उनले जोड दिए ।
परिषद्का अध्यक्ष तारानाथ पहारीले पर्यटन क्षेत्रका विभिन्न समस्यालाई समाधान गर्दै जान सबैको एकतावद्ध प्रयास आवश्यक हुने बताए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो व्यवसायिक चार्टड उडानसँगै नियमित अन्तर्राष्ट्रिय उडानको पहल, पर्यटन प्रवद्र्धनका विभिन्न कार्यक्रमसँगै परिषद् निरन्तर प्रवद्र्धन र विकासका काममा अघि बढीरहेको उनको भनाइ छ । परिषद्का अध्यक्ष पहारीको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालन महासचिव जीवनराज सापकोटा र उद्घाटन सत्रमा प्रथम उपाध्यक्ष हरि भुजेलले स्वागत गरेका हुन् ।
कार्यक्रममा पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक एवम् परिषद्का पूर्व अध्यक्ष गोपिबहादुर भट्टराई, उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेशका महाशाखा प्रमुख हेमा पोखरेल, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका लेखा अधिकृत सागर श्रेष्ठ लगायतले आ–आफ्ना भनाइ राखेका छन् ।
साधारण सभाको बन्दसत्रले महासचिव जीवनराज सापकोटा, महासचिवको प्रतिवेदन र कोषाध्यक्ष बाबुराम पाण्डे र कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । परिषद्का अध्यक्ष पहारीको अध्यक्षता एवम् सचिव नारायण सुवेदीले सञ्चालन गरेको बन्दसत्रमा स्वागत द्वितीय उपाध्यक्ष चौबहादुर गुरुङ गरेका हुन् । बन्दसत्रमा निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठ, पूर्व अध्यक्ष चिरञ्जिवी पोखरेल लगायतले आ–आफ्ना भनाइ राखेका छन् ।
Comments are closed.