रामपुर (पाल्पा) । पाल्पाको रामपुरमा सम्पन्न वाइवाइ तेस्रो ज्योतिपुञ्ज कपको उपाधि आयोजक ज्योतिपुञ्ज युवा क्लब रामपुर उपाधि जित्न सफल भएको छ । सोमबार भएको फाइनल खेलमा दोस्रो संस्करणको विजेता टिम युनाईटेड युथ क्लब गिरुबारी, नवलपुरलाई १–० गोल अन्तरले पराजित गर्दै ज्योतिपुञ्जले तेस्रो संस्करणको उपाधि प्राप्त गरेको हो ।
जिल्लाकै सर्वाधिक पुरस्कार राशीसहित रामपुरमा भएको प्रतियोगिताको फाइनल खेलमा ज्योतिपुञ्जले सुमित श्रेष्ठको एक गोलको योगदानमा उपाधि जित्न सफल भएको हो । खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा खेलको ७३ औं मिनेटमा श्रेष्ठले ज्योतिपुञ्जको लागि गोल गर्दै १–० को अग्रता दिलाउन सफल भएको छ । अन्ततः श्रेष्ठले गरेको गोल नै उपाधिको निर्णायक बन्न पुगेको हो ।
खेलमा पराजित भएसंगै उपाधिको दाबेदार युनाईटेड युथले रामपुर–७, किसानबारी ज्योतिपुञ्ज खेलमैदानमा भएको प्रतियोगिताको उपविजेतामा चित्त बुझाएको छ । प्रतियोगिताको उपाधि विजेता आयोजक ज्योतिपुञ्जले नगद ३ लाख ५० हजार र उपविजेता युनाईटेड युथ क्लबले नगद २ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । सेमिफाइनलमा पराजित टिम अभिषेक चर्च रजहर र देवदह ब्वाईजलाई आयोजकले २५–२५ हजार रुपियाँ प्रदान गरेको छ ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी ज्योतिपुञ्ज युवा क्लबका आशिष गुरुङ भए । खेल संयोजक अनिल शाहीका अनुसार उत्कृष्ट गोलकिपर ज्योतिपुञ्ज युवा क्लवका सरोज तामाङ, उत्कृष्ट डिफेन्डर युनाईटेड युथ क्लव गिरुबारीका सुमित मल्लाह, हाईस्कोरर देवदह ब्वाईजका आशिष जिसी, इमर्जिङ प्लेयर युनाईटेड युथ क्लव गिरुबारीका याम प्रसाद बुढा र उत्कृष्ट कोच ज्योतिपुञ्ज युवा क्लबका केशवराज श्रेष्ठ भएका छन् ।
प्रतियोगिताको विजेता समूहलाई रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापा, समाजसेवी शेषकान्त पुरी, अन्तराष्ट्रिय विपि चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दीप राना र जापानिज समाजसेवी काजुमासा काकिमी (ओके बाजे) ले पुरस्कार प्रदान गरेका हुन् । रामपुर नगर प्रमुख थापाले प्रतियोगिताले रामपुरको पहिचान बढाउनुका साथै नयाँ खेल प्रतिभालाई आकर्षित गरेको बताए । उनले किसानबारीमा रंगशाला निर्माणका लागि रु २ करोड रकम विनियोजन गरेको जानकारी दिए ।
समाजसेवीले शेषकान्त पुरीले खेल राष्ट्रलाई चिनाउने माध्यम रहेको बताउँदै खेल क्षेत्रमा जस्तै अब राजनितीमा पुस्ता हस्तान्तरण गर्नु आवश्यक रहेको बताए । कालीगण्डकी सभ्यता संरक्षणका लागि कालीगण्डकी बचाउनु आवश्यक रहेको उनी बताउँछन् । जापानिज नागरिक काजुमासा काकिमी ओके बाजेले क्लवले सञ्चालन गर्दै आएको प्रतियोगिताको प्रशंसा गरेका छन् ।
पहिलो र दोस्रो संस्करण रामपुरको पहिचानको लागि प्रतियोगिता सञ्चालन भएकोमा तेस्रो संस्करणको प्रतियोगिता खेलमैदान निर्माण सहयोगार्थ सञ्चालन गरिएको क्लबका अध्यक्ष सुन्दर रानाले बताए । उनले प्रतियोगिता सम्पन्न गराउन सहयोग गर्नुहुने सरोकारवाला सबैमा आभार व्यक्त गरेका छन् । कार्यक्रममा क्लबका पूर्व अध्यक्ष सुदिप गौतमले क्लबको ऐतिहासिक पृष्ठभूमि तथा हालसम्म गरेका कार्यको बारेमा जानकारी दिएका छन् ।
क्लबका सदस्य संगिता अधिकारी पोखरेलको स्वागतबाट सुरु भएको कार्यक्रमको सञ्चालन क्लबका सल्लाहाकार ध्रब पोखरेल र खुम सारुले गरेका हुन् । समापनको अवसरमा सम्मान कार्यक्रमसंगै मौलिक सांकृतिक झाँकी, रामपुर स्काउट ट्रुपको मार्चपास समेत रहेको थियो ।
Comments are closed.