काठमाडौं महानगरपालिकाद्वारा ६२ वटा चोकमा हाइ मास्ट लाइट जडान

काठमाडौं । काठमाडौं महानगरपालिकाले सहरका ६२ वटा चोकमा हाइ मास्ट लाइट जडान अन्तिम चरणमा पुगेको छ । हाइ मास्ट बत्ती राख्न आवश्यकता देखिएका ७० वटा चोकमध्ये पहिलो चरणमा ६२ वटा चोकमा पोल गाडेर अहिले बत्ती जडानको काम अन्तिम चरणमा पुगेको हो ।

मनोहरा पार्क नरेफाँट, जडीबुटी चोक, कोटेश्वर चोक, तीनकुनेका तीन कुनामा एक÷एक वटा, अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशद्वार अगाडि र वहिर्गमनद्वार अगाडि, तिलगंगा, गौशाला, मित्रपार्क, गौरीघाट, चावहिल चोक, चुच्चेपाटी चोकमा हाइमास्ट बत्ती जडान गरिएको छ ।

त्यस्तै सुकेधारा चोक, शिक्षण अस्पताल महाराजगञ्ज चोक, कान्ति अस्पताल, नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान अगाडि, बानेश्वर चोक, बिजुली बजार आर्क ब्रिज, माइतीघर मण्डला क्षेत्रको नयाँ बानेश्वर तर्फ, नेपाली सेनाको कम्पाउण्डतर्फ र सिंहदरबारतर्फ गरी ३ ठाउँमा, बालाजु बाइपास, बालाजु चोक, नयाँ बसपार्कमा २ वटा, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र अगाडि, सोह्रखुट्टे चोक, लैनचौर ग्राउण्ड, लाजिम्पाट, दूग्ध विकास संस्थान अगाडि, गैरीधारा, नारायणहिटी, पब्लिक युथ क्याम्पस, इन्द्रायणी मन्दिर, टेकु पुल, कालीमाटी चोक, कालीमाटी ट्राफिक आइल्याण्ड, कालीमाटी तरकारी बजार, थापाथली पुल नजिक बत्ती राखिएको छ ।

महानगरको सार्वजनिक निर्माण विभागका महाशाखा प्रमुख रामचन्द्र नेपालीले जानकारी ९ करोड ९९ लाख लागत अनुमान गरिएको हाइ मास्ट लाइट जडान सार्वजनिक खरिद प्रक्रियामा ९ करोड ८५ लाख २२ हजार १४४ रुपैयाँमा काम भएको जानकारी दिए । २०८१ पुस २३ गते निर्माण पक्षसँग महानगरपालिकाले सम्झौता गरेर कामको जिम्मा दिएको हो । उनका अनुसार हाइ मास्ट लाइट जडान आगामी पुस ३० गतेसम्म जडान गरिसक्नुपर्नेछ । तर, तिहारको उल्लासका लागि बत्ती जडान गर्ने लक्ष्यसहित काम गरिएकोले तिहार अघि नै काम सकिएको महाशाखा प्रमुख नेपालीले जानकारी दिए ।

“६२ वटा चोकमध्ये २१ वटा चोकमा १२.५ मिटरका पोल जडान गरिँदै छ । यस पोलमा ६ वटा बत्ती जडान हुँदैछ” महाशाखा प्रमुख नेपालीले भने,–“४१ वटा चोकमा १६ मिटर अग्ला पोल गाडिनेछन्, यी पोलमा ८ वटा बत्ती हुनेछन् ।” यी बत्तीहरू १ हजार वाट क्षमताका हुन् । सेफ्टवेयर प्रणालीमा आधारित यी बत्तीहरू आवश्यकताका आधारमा चर्को र मधुरो प्रकाशमा बाल्न मिल्छ ।

You might also like

Comments are closed.