काठमाडौं । यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन आज भाइटीका अर्थात् तिहार पर्व धुमधामका साथ मनाइँदैछ । आजका दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाउने परम्परा रहिआएको छ ।
प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको छैठौँ दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यो दिनलाई यमद्वितीया पनि भनिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष तिथि वृद्धि भएकाले भाइटीका तिहारको छैठौँ दिन परेको हो ।
टीका लगाएपछि दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर मखमली, सयपत्री वा गोदावरी फूलका माला लगाइदिन्छन् । बदला स्वरूप दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार कपडा, दक्षिणा र सौभाग्यका प्रतीक वस्तुहरू अर्पण गरी सम्मान प्रकट गर्छन् ।
समितिका अध्यक्ष प्रा। शम्भुप्रसाद ढकालका अनुसार आज टीका लगाउन दिनभर कुनै बाधा छैन, तर साइत खोज्नेका लागि बिहान ११ः३९ बजे अभिजित् मुहूर्त उत्तम मानिएको छ । यस वर्ष टीका लगाइदिने दिदीबहिनी पूर्वतर्फ र टीका लगाउने दाजुभाइ पश्चिमतर्फ फर्कनुपर्ने शास्त्रीय परामर्श समितिले दिएको छ । यसो गर्दा तुला राशिमा रहेका पश्चिमका चन्द्रमा सम्मुख पर्ने भएकाले शुभ मानिन्छ ।
तिहारमा लगाइने टीकाको शास्त्रीय मान्यता पाँच रंगको –रातो, सेतो, पहेंलो, हरियो र नीलो रहेको छ । पछिल्ला वर्षमा सप्तरङ्गी टीका पनि लोकप्रिय बन्दै गएको छ । टीका लगाइसकेपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मसला र सेलरोटी लगायतका परिकार अर्पण गर्छन् ।
दाजुभाइ र दिदीबहिनी नहुनेका लागि भने काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर आजका दिन खुला गरिन्छ । वर्षमा एकपटक यही दिन मात्रै खुल्ने उक्त मन्दिरमा अश्रितहरू गई पूजा, दर्शन र टीका लगाउने गर्छन् ।
Comments are closed.