देउसी भैलोको मौलिकता जोगाउँदै

रामपुर (पाल्पा) । देउसी भैलोको परम्परागत मौलिकता जोगाउन थालिएको छ । देउसी भैलोको नाममा आधुनिकता भित्रिन थालेपछि पूरानो संस्कार संस्कृति अवलम्वन गरी समाजमा सकारात्मक सन्देश प्रवाह गर्न मौलिकतामा जोड दिइएको छ ।

संस्कृतिको नाममा हुने विकृति विसङ्गतीलाई रोक्न र नयाँ पुस्तालाई पूरानो रीतिरिवाज सिकाउन आफ्नै गायन, लय र नृत्यमा देउसी भैलो कार्यक्रम गरेको क्षेत्री समाज रामपुर पाल्पाले जनाएको छ । पाल्पाली ढाकाको पोशाकमा सजिएर सामुहिक रुपमा गीत भट्याउँदै देउसी भैलो खेल्न गाउँ–गाउँमा पुगेपछि परम्परागत संस्कृतिको झल्को पाइएको छ ।

समाजका अध्यक्ष दुर्गाबहादुर केसीले परम्परागत संस्कृतिक जोगाउन देउसी भैलो कार्यक्रम आयोजना गरिएको बताए । परम्परागत संस्कार, संस्कृतिले हाम्रो जीवन्त कथा बोल्ने र तिहारको रौनकता छुट्टै हुने भएकाले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्न सामुहिक रुपमा समाजको अगुवाईमा देउसी भैलो खेल्ने गरेको उनी बताउँछन् ।

संस्कृतिको संरक्षण, परम्परागत रितिरिवाजलाई अवलम्वन गर्दै संस्कृतिको नाममा हुने आधुनिकपन, विकृति, विसङ्गतीलाई रोक्न र सङ्कलित रकमबाट समाजको भवन निर्माण सहयोगार्थ देउसी भैलो कार्यक्रम गरिएको सदस्य प्रकाश ज्ञवालीले जानकारी दिए । उनका अनुसार रामपुर नगरपालिका–५ दध्रानमा गतवर्ष भवन निर्माणका लागि जग्गा खरिद गरिसकेको र यसवर्ष भवन निर्माण गर्ने उद्धेश्य रहेको छ ।

You might also like

Comments are closed.