रामपुर (पाल्पा) । यस पटक तिहारमा माग अनुसार झिनियाँ पु¥याउन नसकिएको व्यवसायीले बताएका छन् । तिहारको बेला व्यवसायीले झिनियाँ बिक्री गरेर मनग्य आम्दानी गरिरहेका छन् ।
चाडपर्वका बेला ग्राहक तथा व्यापारीबाट माग धेरै आएपनि पु¥याउन नसकिएको उद्यमी रामपुर नगरपालिका–५ स्थित राङभाङ बस्ने रुद्रनारायण श्रेष्ठले बताए । तिहारमा पछिल्लो समय दिदिबहिनीले दाजुभाईलाई सगुनको रुपमा झिनियाँ दिने चलन बढ्दो रहेकाले माग धेरै आउने गरेको उद्यमी श्रेष्ठको अनुभव छ ।
“व्यवसायीलाई उत्पादन गर्न हम्मेहम्मे परेको छ, उत्पादन गरेमात्र हुन्छ, व्यापारको पिरलो छैन, उद्योगबाटै धमाधम बिक्री भइरहन्छ, अहिलेको माग अनुसार पु¥याउनै मुस्किल पर्छ” उनले भने ।
उद्यमी श्रेष्ठले रामपुरमा बिगत एक दशकदेखि झिनियाँको व्यापार गर्दै आएका छन् । उनी यो क्षेत्रकै पहिलो व्यवसायी हुन् । श्रेष्ठलाई श्रीमती लक्ष्मीले निरन्तर रुपमा व्यवसायमा साथ दिदै आएकीछिन् । चाडपर्व छिटो, वर्षा पनि लामो परेकाले बिगतका वर्षको तुलनामा पहिले नै तयार गरेर राख्न नसकिएको हुँदा चाडपर्वमा उत्पादन गर्न भ्याईनभ्याई भएको लक्ष्मी बताउँछिन् ।
श्रेष्ठले सञ्चालन गरेको यो व्यवसायमा ६ जनाले रोजगार समेत पाएका छन् । यस पटकको चाडपर्वमा करिव रु ६ लाख बराबरको कारोबार हुने उद्यमी रुद्रनारायणले बताए । यहाँ उत्पादन भएको झिनियाँ पाल्पा, स्याङजा, तनहुँ, नवलपुर, बुटवल, भैरहवा, चितवन लगायतका विभिन्न स्थानमा खपत भइरहेको छ ।
रामपुर–४ सिर्जनाचोकका विष्णु सारुले यस पटक बजारको माग अनुसार थेग्न मुस्किल परेको सुनाए । उनले तीन वर्षदेखि निरन्तर झिनियाँ उत्पादन गर्दै आएका छन् । यसबाट राम्रो आम्दानी हुने भएपछि व्यावसायीक उत्पादनमा जोड दिएको सारु बताउँछन् ।
घरमै झिनियाँ खरिद गर्न आउने भएपछि उद्यमीलाई बिक्रीको लागि बजार धाउनु परेको छैन । प्रतिकिलो खुद्रा मूल्य रु एक सय र थोक मूल्य रु ९० मा बिक्री भइरहेको छ । छोटो समयमा कम लगानीमा घरमै बसेर आयआर्जन गर्न सकिने हुँदा हिजोआज झिनियाँ व्यावसायमा आकर्षण बढ्दो छ ।
बजारमा यसको माग बढ्दो रहेकाले व्यवसायीलाई सहज भएको छ । उत्पादन गर्न झण्झट गर्न नपर्ने, घरमै बसेर आयस्रोत लिन भएकाले झिनियाँलाई व्यावसायको रुपमा गाउँघरमा लिने गरिएको छ । तिहारमा दिदिबहिनीले दाजुभाईलाई टिका लगाई दिएपछि प्रसादस्वरुप झिनियाँ दिने चलन छ ।
हिजोआज खाजाका रुपमा पनि यसको प्रयोग बढीरहेको छ । तिहार पर्व बाहेक विवाह, ब्रतबन्ध, पूजाआजा, माघे सङ्क्रान्ती, तीज पर्व लगायतका विभिन्न पर्व र शुभ कार्यमा यसको प्रयोग बढ्दो छ । पहिला बजारमा झिनियाँ अहिलेजसो प्रयाप्त मात्रामा पाइदैनथ्यो ।
घर–घरमा तिहारमा हातले घुमाउने सानो साँचोले घरायसी प्रयोजनका लागि मात्रै झिनियाँ बनाउने चलन थियो । तर हिजोआज बजारमा जताततै पाइन थालेपछि घरमा पहिलाजसो झिनियाँ बनाउने कार्य गरिदैन । त्यसकारण पनि बजारका पसल, उद्योगमा झिनिया खरिद गर्न जाने ग्राहकहरु बढ्दै गएका हुन् ।
झिनियाँबाट राम्रो आम्दानी हुन थालेपछि हिजोआज महिलाहरुको यो व्यवसायमा आकर्षण बढ्दो छ । घरमा बसेर कम लगानीमा व्यावसाय सञ्चालन गर्न सकिने हुदा ठूलो लगानी कसरी गर्ने भन्ने पिरलो छैन । झट्ट नबिग्रने हुदा जुनसुकै समय उत्पादन भएको झिनिया भण्डारण गरेर बजारमा पठाउन सकिन्छ ।
गाउँमा सवारी साधनको सुबिधा पुगेपछि गाडीमा ढुवानी गरेर झिनियाँ बजार पठाउन सजिलो छ । बिहान साँझ घरधन्दा सकाएर महिलाले दिउँसोको समय झिनियाँ उत्पादन गरेर आफ्नो जीविका धानेका छन् । यसले पनि महिला परनिर्भरता हट्दै गएको छ ।
चामलको पिठोलाई पकाएर मेसिनको सहायताले झिनियाँ बनाई सुकाएर तयार गर्ने गरिन्छ । बिशेषतः पहिले पहिले तिहार पर्वका लागि मात्र बनाइने झिनियाँ हिजोआज भने अन्य समयमा पनि यसको व्यापार हुने गरेको पाइएको छ । घरायसी खाजाका रुपमा पनि झिनियाँलाई लिने गरिन्छ ।
Comments are closed.