काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) विरुद्ध विशेष अभियान सञ्चालन गरेको छ । उपत्यकामा विगतका वर्षहरूमा चाडपर्वका समयमा हुने सवारी दुर्घटनामा मादक पदार्थ सेवन प्रमुख कारण मानिँदै आएकाले यस वर्ष ट्राफिक प्रहरीले विशेष सतर्कता अपनाएको हो ।
उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीको निर्देशनमा जनपद तथा ट्राफिक प्रहरीले हिजो बिहानैदेखि रातिसम्म उपत्यकाका मुख्य चोक, सडक र गल्लीमा मापसे परीक्षण गरी कडाइका साथ अनुगमन गरिरहेको थियो ।
यस अभियानमा उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी आफै खटिएका छन् । उनले टोलीसहित त्रिपुरेश्वर, नयाँवानेश्वर, कलङ्की, दरबारमार्ग, महाराजगञ्ज, गौशाला, चाबहिल, बल्खुलगायतका क्षेत्रमा निरीक्षण चालकहरूको मापसे परीक्षण गरेका थिए ।
ट्राफिक प्रहरीले दसैँ, तिहारजस्ता पर्वमा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने प्रवृत्ति रोक्न गत वर्षभन्दा यस वर्ष थप कडाइ गरेको छ । उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले ‘मापसे नगरी सवारी चलाऔँ, सुरक्षित यात्रामा सबैको साथ दिऔँ’ नारासहित सडक प्रयोगकर्तामाझ सचेतनामूलक पर्चा वितरण र माइकिङसमेत गरेको थियो ।








Comments are closed.