काठमाडौं । नेपालको पर्यटन क्षेत्रलाई सबैका लागि समान, पहुँचयोग्य र अवसरमूलक बनाउन पहिलो पटक फरक क्षमता भएका व्यक्तिका लागि ट्रेकिङ गाइड तालिम सुरु गरिएको छ ।
नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को सहकार्यमा सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी) को सहयोगमा राष्ट्रिय बहिरा महासंघ नेपाल (एनडीएफएन) र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) ले संयुक्त रूपमा यो तालिम सञ्चालन गरेका हुन् ।
यो तालिम नेपालमा समावेशी पर्यटन विकासका लागि ‘टर्निङ पोइन्ट’ का रूपमा हेरिएको छ । पहिलो चरणमा सात हप्तासम्म सञ्चालन हुने यस तालिममा देशभरका २५ जना फरक क्षमता भएका १८ पुरुष र ७ महिला सहभागी छन् । उनीहरूलाई व्यावसायिक ट्रेकिङ गाइडका रूपमा दक्ष बनाउँदै रोजगारी, आत्मनिर्भरता र समावेशी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य राखिएको छ ।
तालिममा सहभागीले पर्वतीय सुरक्षा, प्राथमिक उपचार, पदमार्ग व्यवस्थापन, अतिथि स्वागत, सांस्कृतिक व्याख्या, वातावरणीय उत्तरदायित्व, वाइल्डलाइफ, सङ्कट व्यवस्थापन र नेपालको भौगोलिक तथा सांस्कृतिक विविधता जस्ता विषयमा सैद्धान्तिक र व्यावहारिक ज्ञान हासिल गर्नेछन् । तालिम पूर्ण रूपमा साङ्केतिक भाषामार्फत सञ्चालन गरिएको छ, जसले सिकाइलाई सहज र सबैका लागि पहुँचयोग्य बनाउन मद्दत गर्नेछ ।
यो पहल समावेशी पर्यटनको दीर्घकालीन रणनीतिक यात्रा भएको बोर्डले जनाएको छ । यूएनडीपी र बोर्डको संयुक्त कार्यक्रम एसटीपीका परियोजना प्रबन्धक धर्मराज दवाडीले पर्यटन आर्थिक क्षेत्र होइन, सामाजिक समानता र अवसर विस्तारको माध्यम पनि हो, हरेक नागरिकले पर्यटनबाट फाइदा लिन पाउनु नेपालको दिगो विकासको आधार रहेको बताए ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) का तथ्याङ्क उदृत गर्दै हाल विश्वभर करिब ४३ करोड मानिस सुन्ने क्षमतामा गम्भीर समस्या भएकका मानिसहरु रहेको उल्लेख गरेका छन् । तीमध्ये सात करोडभन्दा बढीले साङ्केतिक भाषा प्रयोग गर्छन् । उनीहरूका लागि यस्तो पहल अन्तर्राष्ट्रिय स्तरमा समावेशी पर्यटनको उत्कृष्ट नमूना बन्न सक्ने र पर्यटनका विविध आयाममा श्रमशक्ति कम भएका व्यक्तिहरुले पर्यटन विकासमा योगदानको अवसर प्राप्त गर्नेछन् । यो पहलले फरक क्षमताका भएका समुदायका लागि नेपालको पर्यटन खुला बनाउने उनको भनाइ छ ।
उद्घाटन कार्यक्रममा वक्ताहरूले यस तालिमलाई नेपालको पर्यटन इतिहासमा नयाँ युगको सुरुवातका रूपमा व्याख्या गरे । उनीहरूले दृष्टिविहीन, शारीरिक रुपमा अशक्त (फरक क्षमता) भएका र अन्य विशेष आवश्यकता भएका व्यक्तिका लागि पनि यस्ता सीप विकास कार्यक्रम विस्तार गर्नुपर्नेमा जोड दिए । नाथमका विभागीय प्रमुख ज्ञानेन्द्र राज पण्डितले नाथम र सस्टेनेबल टुरिज्म प्रोजेक्टले सहकार्यमा कार्याक्रम अघि बढाएको जनाए । यस कार्यक्रमले नेपालको पर्यटन शिक्षामा समावेशी दृष्टिकोण स्थापित गरेको उनी बताउँछन् ।
राष्ट्रिय बहिरा महासंघ नेपालका अध्यक्ष सन्तोष केसीले तालिमले नेपाली पर्यटनमा नयाँ सम्भावना देखाएको उल्लेख गरे । उनी भन्छन्, “हामी विश्वास गर्छौं, बहिरा युवाले पनि नेपालको पर्यटन क्षेत्रमा उल्लेखनीय योगदान दिन सक्छन्, आगामी दिनमा यस्ता तालिमलाई निरन्तरता दिँदै समावेशी पर्यटनलाई देशव्यापी अभियान बनाउने हाम्रो योजना छ ।”
नाथमका प्राध्यापक अजयकुमार ढकालले समावेशीतालाई पर्यटनको मूल आधारका रूपमा लिनुपर्ने बताए । उनले यस तालिमले समावेशी र मानवकेन्द्रित विकासको उत्कृष्ट उदाहरणका रूपमा व्याख्या गर्दै नेपालले पर्यटनमा समान पहुँच र अवसर सुनिश्चित गर्ने दिशामा सार्थक कदम चालेको जनाएका छन् । नाथमका कार्यकारी निर्देशक दिव्यराज पोखरेलले आत्मविश्वासलाई आत्मअनुशासनमा परिणत गर्दै यो तालिमले व्यक्तिको सोँच र सीपमा रूपान्तरण ल्याउने बताए ।
यस तालिमले फरक क्षमता भएका समुदायका सदस्यलाई नेपालका प्रमुख ट्रेकिङ गन्तव्यमा व्यावसायिक रूपमा संलग्न गराउने मात्र होइन, नेपालको पर्यटनलाई सामाजिक न्याय, समानता र मानव केन्द्रित दृष्टिकोणबाट अघि बढाउने पनि अपेक्षा गरिएको छ ।








Comments are closed.