इटहरी । करुणा फाउण्डेसन नेपालले सुनसरीको इटहरीमा फरक क्षमता भएका व्यक्तिलाई कृत्रिम हात हस्तान्तरण गरेको छ । द ह्यान्ड प्रोजेक्टको सहकार्यमा फाउण्डेसनले अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत फरक क्षमता भएका व्यक्तिलाई निःशुल्क कृत्रिम हात हस्तान्तरण गरिएको हो ।
कोशी प्रदेशको सामाजिक विकास मन्त्रालय, सम्बन्धित पालिकाको लागत साझेदारीमा यो कार्यक्रम सञ्चालन गरिएको छ । प्रदेशका १३७ पालिकामा नै विभिन्न चरणमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत कृत्रिम हात हस्तान्तरण कार्यक्रम सञ्चालनमा रहेको छ ।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीले बोल्दै फरक क्षमता भएका व्यक्तिले सहायक सामग्री प्राप्त गर्नु अधिकार रहेको बताए । कार्यक्रमबाट लाभान्वित व्यक्तिलाई नियमित रूपमा कृत्रिम हात प्रयोगको अभ्यास र दैनिक कार्य सञ्चालनका लागि अभिप्रेरित गर्ने उनी बताउँछन् ।
कोशी प्रदेश सरकार अपाङ्गता अधिकारका क्षेत्रमा सचेत रहेको बताउँदै उनले अपाङ्गता रोकथाम तथा पुनःस्थापनाको निरन्तरताका विषयमा समेत प्रतिबद्ध रहेको जनाए । मंगलबारबाट सुरु भएको शिविर आउँदो कात्तिक २६ गतेसम्म सञ्चालन हुनेछ । शिविर अवधिमा दैनिक २० देखि २५ जनालाई कृत्रिम हात जडान गरिनेछ ।
जर्मनी, न्युजिल्याण्ड र युगान्डाबाट आएका प्राविधिक टोलीद्वारा नाप जाँच, जडान तथा तालिम सञ्चालन हुनेछ । यस अभियान अन्तर्गत कोशी प्रदेशभित्र रहेका १३ जिल्लाका २०४ जना फरक क्षमता भएका व्यक्तिलाई हल्का, सहज र प्राकृतिक देखिने कृत्रिम हात निःशुल्क वितरण गरिने आयोजकले जनाएको छ ।
फाउण्डेसनका निर्देशक योगेन्द्र गिरीले कृत्रिम हात वितरण गर्नु मात्र नभइकन फरक क्षमता भएका व्यक्तिलाई पुनःआत्मनिर्भर, सम्मानजनक र उत्पादक जीवनतर्फ फर्काउने यस कार्यक्रमको उद्धेश्य रहेको बताए । यस कार्यक्रमले कोशी प्रदेशका विभिन्न जिल्लाका लाभग्राहीमा उत्साह ल्याएको छ ।
कार्यक्रममा स्थानीय सरकारका प्रतिनिधि, करुणा नेपालका प्रतिनिधि, राष्ट्रिय अपाङ्ग महासंघका प्रतिनिधि, लाभग्राही परिवार र सञ्चारकर्मी सहभागी थिए । उद्घाटनका अवसरमा पहिलो समूहका केही लाभग्राहीलाई कृत्रिम हात जडान गरिएको छ ।




Comments are closed.