काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति डा. रामवरण यादवसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनमा निर्वाचनको वातावरण बनाउनका निम्ति विभिन्न पक्षहरुसँग संवाद गर्ने क्रममा गृहमन्त्री अर्यालले आज डा. यादवसँग भेटवार्ता गरेका हुन् ।
गृहमन्त्री अर्यालले नेपालका प्रथम राष्ट्रपति डा. यादवसको ललितपुरको बागडोलस्थित निवासमै पुगेर उनको स्वास्थ्य अवस्था र गत भदौ २३ र २४ गतेको घटनाले पारेको असरका सम्बन्धमा जानकारी लिए । केहीबेरको भलाकुसारीपछि केही राजनीतिक विषयमा कुराकानी भएको थियो । त्यसक्रममा गृहमन्त्री अर्यालले जेनजी आन्दोलनले दिएको कार्यादेशअनुसार सरकारी सेवामा प्रभावकारिता र पारदर्शिता बढाउनेदेखि निर्वाचनको तयारीका लागि सरकारका तर्फबाट भइरहेका प्रयासबारे जानकारी गराए ।
सरकारले निर्वाचनलाई अर्जुनदृष्टि मानेर काम भन्दै उनले अभिभावकीय भूमिकामा रहेका पूर्वराष्ट्रपति यादवलाई समाजका सबै पक्षलाई निर्वाचनतर्फ उन्मुख हुने गरी प्रेरित गरिदिन आग्रह पनि गरे । डा. यादवले पनि प्रधानमन्त्री कार्की नेतृत्वको सरकारका तर्फबाट निर्वाचनका लागि वातावरण बनाउन भइरहेका प्रयासको सह्राहना गरे । पूर्वप्रधानन्यायाधीशको नेतृत्व र समाजका स्वतन्त्र व्यक्तिहरु सामेल भएको कारण यस सरकारले निष्पक्ष चुनाव गराउन सक्ने विश्वास पनि व्यक्त गरेका छन् ।
उनले विगतमा खिलराज रेग्मी नेतृत्वको सरकारले सफलतापूर्वक चुनाव गराएको सन्दर्श स्मरण गर्दै उक्त समयमा आफू राष्ट्रपतिको भूमिकामा रहँदा देखे, भोगेका अनुभव पनि सुनाए । त्यसबेला पनि निकै प्रतिकूल समयमा चुनाव गराउन सम्भव भएको उल्लेख गर्दै उनले अहिले पनि यो तटस्थ सरकार भएकाले सबै पक्षले विश्वास गर्नुपर्ने बताए ।
डा.यादवले भन्छन् ‘यो संविधान र लोकतान्त्रिक प्रणालीलाई बचाउँदै अनिश्चयको अन्त्य गर्न निर्वाचनबाहेक अर्को कुनै सुरक्षित बाटो नै छैन, तपाईंहरु मेहनतसाथ लाग्नुभएको छ, यो सह्राहनीय पक्ष छ । निर्वाचनलाई नै अर्जुनदृष्टि मानेर अघि बढ्नुहोस्, चुनाव सफलतापूर्वक सम्पन्न गर्न सकिन्छ ।’ चुनावका संवाहक दलहरु नै भएकाले अब चुनावभन्दा दायाँबायाँ सोँच्न नहुने उनको धारणा छ । अहिले चुनाव हुन सकेन भने भोलि अर्को ठूलो संकट आउन सक्नेतर्फ सबै पक्ष सचेत रहनुपर्ने उनको भनाइ छ ।
‘अहिले चुनाव गराउन सकिएन र यो प्रक्रिया डिरेल भयो भने प्यान्डोरा बक्स खुल्छ । अब दायाँबायाँतिर लाग्नुहुँदैन । तपाईँहरुले जे गरिरहनुभएको छ त्यो ठिक छ । प्रधानमन्त्रीज्यू पनि चुनावमा केन्द्रित गम्भीरतापूर्वक लाग्नुभएको देखिन्छ ।’








Comments are closed.