मुलुकको सङ्कट समाधानमा समन्वयवादी मार्ग खोजिनुपर्ने नागरिक समाज कास्कीको माग

पोखरा । नागरिक समाज कास्कीले मुलुकको वर्तमान संवैधानिक गतिरोध एवं राजनीतिक सङ्कट समाधानका लागि समन्वयवादी मार्ग उपाय खोजिनुपर्नेमा जोड दिएको छ । त्यसका लागि सबै राजनीतिक दल र जेनजीसहित स्वाभिमानी नागरिक समाजका देशभक्त अगुवाहरु सम्मिलित सर्वपक्षीय राजनीतिक सम्मेलन आह्वान गरी असंवैधानिक मार्गलाई सच्याएर संवैधानिक रुप दिन सकिने जनाइएको छ ।

सोही व्यहोरा उल्लेखित सातबुँदे मागसहितको ज्ञापनपत्र बिहीबार जिल्ला प्रशासन कार्यालय कास्कीमार्फत राष्ट्रपति समक्ष बुझाइएको छ । नागरिक समाज कास्कीका संस्थापक संयोजक रामबहादुर पौडेलको नेतृत्वमा जिल्ला प्रशासन गएको टोलीले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई ज्ञापनपत्र हस्तान्तरण गरेको छ ।

ज्ञापनपत्रमा वर्तमान सरकारले जे–जस्ता कार्यक्रमहरु सार्वजनिक गर्दछ, त्यसलाई निःशर्त स्वीकारेर जाने समर्पणवादी यात्रा वा अहिलेको सरकारलाई सडकबाटै हटाउने प्रतिरोध एवं प्रतिशोधात्मक कदम सबै पीडादायी हुने उल्लेख गर्दै अहिलेको सहज निकास र व्यवस्थापन मध्यममार्गी उपाय समन्यवादी मार्ग नै भएको ठहर गरिएको छ ।

यसैगरी निर्वाचित कार्यकारी प्रधानमन्त्रीसहितको प्रतिनिधि सभा सदस्यको निर्वाचन हुने समेतको तत्काल आवश्यकताका विषयमा संविधान संशोधन गरी जेनजीसमेतको प्रभावकारी उपस्थिति सुनिश्चितका लागि सशर्त संसद पुनःस्थापना गर्नुपर्ने माग गरिएको छ । जेनजीको उपस्थितिमा प्रतिनिधि सभाको कुनै सदस्यको अध्यक्षतामा अन्तरिम सरकार गठन र सर्वपक्षीय सम्मेलनको लिखित सहमतिमा तोकिने अवधिभित्रै संविधान संशोधन कार्य सम्पन्नपछि संसद विघटन गरी संवैधानिक सरकारबाटै आमनिर्वाचन गराउनु उत्तम विकल्प हुने उल्लेख गरिएको छ ।

“संवैधानिक सरकारको व्यवस्थापनमा जनता जनार्दनको विवेकमा भरपर्ने लोकतान्त्रिक पद्दतिको आमनिर्वाचनमा हुने शान्तिपूर्ण मतदानको परिणामबमोजिमको सरकार नै वैधानिक, भरपर्दो र जनउत्तरदायी हुनेमा हामी विश्वस्त छौं,’ ज्ञापनपत्रमा भनिएको छ, ‘यही नै समकालीन मुलुकी द्वन्द्व, अस्थिरता र सबैखाले अविश्वासको व्यवस्थापनको उपयुक्त बाटो हो ।”

ज्ञापनपत्र बुझ्दै प्रजिअ शर्माले नागरिक समाज मुलुक र नागरिकको हितमा निःस्वार्थ काम गर्दै आएको उल्लेख गर्दै पत्र राष्ट्रपतिको कार्यालयमा पठाउने बताइन् । सो अवसरमा नागरिक समाजका सहसंयोजक दुर्गाकुमारी शर्मा, प्रवक्ता गोकुलबहादुर कार्की, पूर्व संयोजक विष्णुहरि अधिकारी, संस्थापक सदस्य शशि तुलाचन लगायत सहभागी थिए ।

You might also like

Comments are closed.