पोखरा । काठमाडौं–दिल्ली – काठमाडौं सुविधा सम्पन्न बस सेवा सञ्चालन गर्दै आएको हिमालयन रोयल पोखरा टुर्स एण्ड ट्राभल्स प्रालिले ”संयुक्त हिमालयन” को नाममा पोखरा–दिल्ली–पोखरा बस सेवा सञ्चालन गर्ने भएको छ । आगामी साउन १० गते (आइतबार) देखि बस सेवा संचालन गरिने कम्पनीले जनाएको छ ।
कम्पनीका अध्यक्ष अनिल थापाका अनुसार बस सेवा सञ्चालनका लागि करिब ७ करोड रुपैयाँ लगानी गरिएको छ। प्रारम्भिक चरणमा ५ वटा बस मार्फत नियमित सेवा प्रदान गर्ने थापाले जानकारी दिए । सुविधासम्पन्न बस संचालन हुने भएकोले यात्रुलाई यात्रा गर्न सहज हुने थापाले बताए । बस बिहान ६ः३० बजे पोखराको जिरो किलोमिटरबाट छुट्ने र बस नारायणगढ हुँदै दिल्ली जाने बताइएको छ ।

कम्पनीका संरक्षक योगेन्द्रबहादुर केसीले बस सेवा विस्तारले व्यापार, अध्ययन, उपचार, पर्यटन तथा पारिवारिक भेटघाटका लागि पोखरा–दिल्ली आवतजावत गर्ने यात्रुलाई सहज हुने विश्वास व्यक्त गरेका छन् । पर्यटकीय शहर पोखरालाई दिल्लीसँग जोड्दा दुवै देशको पर्यटन प्रवद्र्दन र व्यावसायिक सहकार्यमा थप योगदान पुुग्ने विश्वास लिएका छौं, कम्पनीका संरक्षक केसी भन्छन्, ”दुई देशको पर्यटन प्रवद्र्दन, व्यावसायिक सहकार्य र यातायात क्षेत्रको आधुनिकीकरणमा यो सेवाले थप योगदान पुग्नेछ ।”

काठमाडौं–दिल्ली काठमाडौं बस सेवा संचालन हुँदा यात्रुलाई यात्रा गर्न सहज भएकोले पोखराबाट पनि सेवा विस्तार गर्न लागिएको बताइएको छ ।







Comments are closed.