पत्रकार पराजुलीको ‘मोम्चो कथासंग्रह’ सार्वजानिक

चितवन । कथाकार एवं पत्रकार वसन्त पराजुलीद्वारा लिखित नवीनतम् कथा संग्रह ‘मोम्चो’ सार्वजानिक भएको छ । भूँडीपुराण प्रकाशन प्रालिद्वारा प्रकाशित सो कृतिमा ११ समसामयिक कथा समावेश गरिएको छ ।

अक्षर समूह चितवनको संयोजनमा भूँडीपुराण प्रकाशनद्वारा शुक्रबार यहाँ आयोजित कार्यक्रममा किशोरी रमिता चेपाङले कृति सार्वजानिक गरे । विशेषगरी ती कथामा चेपाङ समुदायमा बढ्दो बालविवाह र यसपछि महिलाले भोग्नुपरेका विविध समस्यालाई जीवन्त र सजीवरूपमा उतारिएको छ । साथै पितृसतात्मक समाजका कारण नारीले भोग्नुपरेका समस्या र सङ्घर्ष मार्मिकरूपमा सरल भाषामा प्रस्तुत गरिएका छन् । वरिष्ठ पत्रकार पराजुलीले यसअघि ‘कुमाता’ कथा सङ्ग्रह प्रकाशित गरिसकेका छन् । सो कृति अहिले तेस्रो संस्करणमा प्रकाशित हुनेक्रममा रहेको बताइएको छ ।

कार्यक्रममा कृतिमाथि वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले समीक्षा गर्दै ‘मोम्चो’ कथा सङग्रहभित्रका कथाले समाजमा विद्यमान नारीले भोग्नुपरेका समस्या, गर्नुपरेका सङ्घर्ष र पितृसतात्मक समाजको परिणामस्वरुप सिर्जित नारी समस्यालाई सशक्तरूपमा उठान गरेको बताए । उनले भने, “कथाको दम कथाकारितासँगै कथा शक्तिमा पनि उत्तिकै जोडिएको छ ।” आख्यानकार अश्विनी कोइरालाले सरल भाषामा नारी वेदनालाई कथाले जीवन्तरूपमा प्रस्तुत गरेको बताइन् । पुस्तकका लेखक पराजुलीले मोम्चो शीर्षकथाबाट कृतिको नामाकरण गरिएको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ चितवन शाखाका अध्यक्ष नारायणप्रसाद अधिकारीले सञ्चारकर्मी पराजुली साहित्य विधामा पनि शसक्तरूपमा कलम चलाउन थालेको टिप्पणी गरे । भूँडीपुराण प्रकाशन प्रालिका प्रबन्ध निर्देशक केशव पराजुलीले भने, “कथाकार वसन्तका कथा नारीवादी हुन्छन् । नारीका व्यथा र चित्कारलाई यथार्थ प्रस्तुत गरिएका हुन्छन् ।” अक्षर समूहका अध्यक्ष प्रभाकर पण्डितले पत्रकारितासँगै साहित्य क्षेत्रमा कथाकार पराजुलीको कलम सशक्तरूपमा चलेको उल्लेख गरे ।

कार्यक्रममा महिला अभियानकर्मी मीना खरेल, अक्षर समूहका कोषाध्यक्ष माया गुरुङ र लेखराम सापकोटालगायतले कथासङ्ग्रहका बारेमा चर्चा गरेका थिए । वरिष्ठ सञ्चारकर्मी पराजुली लामो समयदेखि ‘गोरखापत्र दैनिक’का चितवन जिल्ला समाचारदातामा कार्यरत छन् । उनी तीन दशकभन्दा बढी समयदेखि पत्रकारितामा क्रियाशील छन् ।

You might also like

Comments are closed.