भौतिक पूर्वाधारको काम धमाधम

बुटवल । लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन गर्न प्रदेशको स्थायी राजधानी दाङको भालुबाङमा भौतिक पूर्वाधारको काम धमाधम भइरहेको छ । मुख्यमन्त्री कुलप्रसाद केसीको पहलकदमीमा निर्माणको काम द्रुतगतिमा अघि बढाइएको छ ।

आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माका अनुसार भौतिक पूर्वाधारको काम सपन्न हुनेवित्तिकै प्रदेशसभाको बैठक बस्ने जानकारी दिए । “हामीले काम फटाफट सक्यौँ भने सकेसम्म त्यही बैठक बस्ने योजना छ”, उनले भने । विसं २०७८ जेठमा पाँच करोड २१ लाख रुपैयाँ को लागतमा प्रदेश पूर्वाधार विकास प्राधिकरणमार्फत सुविधा सम्पन्न सभाहल, सभामुखको लबी, स्टेजलगायतका काम सम्पन्न गर्ने भनिए पनि सभाहललाई लक्षित गरेर काम तीव्र बनाइएको छ ।

लुम्बिनी प्रदेशसभाका सचिव दुर्लभ पुनले भौतिक पूर्वाधारका काम तीव्ररुपले भइरहेकाले तोकिएको अवधिसम्म निर्माण सकिए प्रदेशसभाको बैठक बस्न सकिने जानकारी दिए । सभामुखका प्रमुख स्वकीय सचिव ध्रुवविक्रम ओलीले सभाहल निर्माणको काम करिब ३५ प्रतिशत पूरा भएको बताए । तीन महिनाभित्र सभाहल निर्माणको काम सकिने आँकलन गरिएको छ ।

प्रदेश सरकारले स्थायी राजधानीको गुरुयोजनाको निर्माण सुरु गरेको थियो । प्रशासनिक केन्द्र, शहर, कृषि क्षेत्र, शिक्षा, स्वास्थ्य, खेलकूदलगायत क्षेत्र तोक्ने र सोहीअनुसार डिजाइन बनाइने गुरुयोजना थियो । स्थायी राजधानीको गुरुयोजनाले राप्ती गाउँपालिका, गढवा गाउँपालिका–१, २ र ३, शीतगङ्गा नगरपालिकालाई समेट्ने छ ।

एक वर्षअघि लुम्बिनीको स्थायी राजधानी भालुबाङ क्षेत्रलाई तोकिएको थियो । सोही अनुसार त्यसलाई आधुनिक शहरका रुपमा विकास गर्ने लक्ष्य लिइएको थियो । प्रदेशसभाका सूचना अधिकारी यमकान्त पाण्डेले राजनीतिक तहमा कुराकानी भए पनि कर्मचारीको तहमा छलफल नभएको जानकारी दिए ।

You might also like

Comments are closed.