चितवन । वन तथा वातावरणमन्त्री रामसाहयप्रसाद यादवले चोरी शिकारीका कारण बाघ संरक्षणमा चुनौती थपिएको बताएका छन् । राष्ट्रिय बाघ सर्वेक्षण, २०७८ को आइतबार यहाँ उद्घाटन गर्दै उनले बाघको बासस्थानमा सङ्कुचन, आहारा प्रजातिको कमि, हड्डी तथा छालाका लागि गरिने चोरी शिकारी मुख्य चुनौतीको रुपमा रहेको उल्लेख गरे ।
हड्डी तथा छालाका लागि गरिने चोरी शिकारी र अन्तरदेशीय व्यापार बाघ संरक्षण चुनौतीको विषय बनेको मन्त्री यादवले बताए । बाघको मुख्य बासस्थानमा निर्माण हुने सडक, रेल मार्गलगायत भौतिक पूर्वाधार निर्माण जस्ता कार्यले बाघ संरक्षणमा चुनौती थपिएको उहाँको भनाइ थियो । सरकारले बाघ संरक्षणलाई विशेष प्रथामिकता दिएको भन्दै उनले संरक्षणकर्मी, स्थानीय तह, सामुदायिक वन, संरक्षण क्षेत्र, नागरिक समाजलगायत मिलेर यसको संंरक्षण गर्नु आवश्यक रहेको बताए ।
विगत एक सय वर्षमा बाघको ९० प्रतिशत बासस्थान मासिएको भन्दै मन्त्री यादवले बासस्थानको संरक्षण मुख्य कुरा रहेको बताए । बाघले नेपालका मुख्य पर्यापर्यटन अभिवृद्धिमा अतुलनिय योगदान पु¥याएको भन्दै उनले बाघको संरक्षण गरी यसबाट पाउने लाभलाई बढीभन्दा बढी समुदायमा पु¥याउने गरी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए । मानव–बाघबीचको द्वन्द्ध व्यवस्थापन गर्न अन्य निकायसँग सहकार्य गर्न मन्त्री यादवले विभागलाई निर्देशन दिए । बाघ पाइने संरक्षित क्षेत्र तथा जैविक मार्गमा वन्यजन्तुमैत्री पूर्वाधार निर्माण गर्ने कार्यविधि तयार भई स्वीकृतिको क्रममा रहेको उनले जानकारी दिए । विश्व माटो दिवससमेत रहेको भन्दै मन्त्री यादवले हरेक जीवको आधार हो भने । माटोमा रहेका हरेक प्राणी एक अर्कामा अन्तर सम्बन्धित छन् ।
कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव डा प्रेमनारायण कँडेलले बाघको सङ्ख्या बढेको अनुमान गरिएको बताए । विज्ञको भनाइ र अनुमानलाई हेर्दा बाघको सङ्ख्या २ सय ५० नाघ्ने उनको अनुमान थियो । पछिल्ला वर्षमा बाघको बासस्थान विस्तार गरिएको भन्दै उनले बाँके निकुञ्जको स्थापना र पर्सा निकुञ्जमा क्षेत्र विस्तार गरिएको जानकारी दिए । यससँगै संस्थागत ढङ्गले बाघको सङ्ख्या बढाउने काममा मन्त्रालय लागेको बताए ।
Comments are closed.