शिक्षकले पेशालाई मर्यादित बनाउनु पर्दछ : पूर्वमन्त्री अधिकारी

गण्डकी । पूर्वगृहमन्त्री खगराज अधिकारीले शिक्षकले पेशालाई मर्यादित एवं जिम्मेवार बनाउनुपर्ने बताएको छन् । कास्कीको रुपा गाउँपालिका–२ थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयको ६१औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले शैक्षिक उन्नयनका लागि शिक्षक, विद्यार्थी र अभिभावको सामूहिक प्रयासको खाँचो औँल्याए ।

उनले विद्यालयस्तरबाटै विद्यार्थीलाई राष्ट्रियताको भावना विकास गराउनतर्फ लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा विद्यालयको शैक्षिक विकासमा सहयोग गर्ने शिक्षिका रस्मिला खनाल, पूर्वविद्यार्थी मनबहादुर भुजेल तथा राजेन्द्र ओझा, विद्यालय व्यवस्थापन समितिका पूर्वसदस्य दुर्गाबहादुर विक र पूर्वप्रधानाध्यापक रोशनलाल गुरुङलाई शिवालय वर्ष सम्मान २०७८ बाट सम्मान गरिएको थियो ।

सो अवसरमा विद्यालयका पूर्वविद्यार्थी टीकाराम सुवेदीले आफ्ना माता र पिता सरस्वती सुवेदी र दण्डापाणि सुवेदीको स्मृतिमा तीन लाख रुपैयाँ तथा पूर्वविद्यार्थी डा नारायण ओझाले आफ्ना माता र पिता डिलकुमारी ओझा र विश्वनाथ ओझाको स्मृतिमा अक्षयकोष स्थापनाका लागि ५० हजार रुपैयाँको चेक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन सुवेदीलाई हस्तान्तरण गरे ।

रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले पालिकाले शैक्षिक उन्नयनका लागि निरन्तर सहयोग गर्दै आएको जनाउँदै प्रविधिमैत्री सिकाइका लागि शिवालयले गरेको प्रयास अनुकरणीय रहेको धारणा राखे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवेदीका अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा शिक्षा शाखा प्रमुख सन्दीप पौडेल, डा गणपति ओझा, रोशनलाल गुरुङ, पूर्वविद्यार्थी डा नारायण ओझा, मनबहादुर भुजेल, राजेन्द्र ओझा, दुर्गाबहादुर विक, रामकोट माविका प्रधानाध्यापक भरतमणि भट्टराई, सल्लाहकार बलबहादुर गुरुङ, पूर्वविद्यार्थी मञ्चका उपाध्यक्ष शिवराज सुवेदीलगायतले गुणस्तरीय शिक्षाका लागि सबैको साथ र सहयोग आवश्यक रहनेमा जोड दिए ।

विद्यार्थीद्वारा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको कार्यक्रममा विद्यालयको आर्थिक एवं प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो । विसं २०१७ मा स्थापित सो विद्यालयमा हाल कक्षा १२ सम्म पढाइ हुँदै आएको छ ।

You might also like

Comments are closed.