प्रधानमन्त्री कृषि परियोजनाले फेरियो कचनकबल : गाउँभरि यन्त्रै यन्त्र

चन्द्रकला भण्डारी, झापा । हरेक बिहान कनहैयालाल गणेश धान रोपाइँका लागि मध्यमाघको ठिही छिचोल्दै जोत्ने विद्युतीय मेसिन पावर टिलर लिएर खेतमा पुग्छन् । घमाइलो भएपछि सौर्य विद्युत्बाट चल्ने सिँञ्चाइ पम्पको स्वीच ‘अन’ गर्छन् । यतिबेला उनको खेतबारीमा हिउँदे धान रोपाइँको रौनक छ । बीउ काड्ने र रोप्ने खेताला भेला भएपछि रोपाइँ सुरु हुन्छ ।

कचनकबल–४ फेर्कागाछी निवासी ४३ वर्षीय कनहैयालाल मात्र होइन नेपालकै होचो पालिकाको रुपमा चिनिएको दक्षिणी झापाको कचनकबलको हरेक बस्तीमा यतिबेला सोलार र मोटर सिँञ्चाइ गरेर हिउँदे धान रोपाइँ चलिरहेको छ । किसान काममा व्यस्त छन् । गाउँतिर जताततै खेत जोत्न ट्र्याक्टर, पावर टिलरलगायतका आधुनिक कृषि उपकरण प्रयोग भइरहेका छन् ।

कनहैयालाल र उनको पालिकामा पाँच वर्ष अघिसम्म एक बाली मात्र खेती हुन्थ्यो । तर अहिले तीन बाली उत्पादन भइरहेको छ । २०७३ सालमा सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू गरेपछि कचनकबलको खेती प्रणाली फेरिएको हो । नेपाल सरकारले परियोजनासँगै झापाको कचनकबल गाउँपालिकालाई धान सुपरजोन घोषणा गरेर निर्वाहमुखी खेतीलाई व्यावसायिक बनाउने कार्यक्रम ल्यायो । न्यूनतम् एक हजार हेक्टर क्षेत्रफलमा सञ्चालन भएको बाली विशेषको वृहत व्यावसायिक कृषि उत्पादन तथा औद्योगिक एकाइलाई सरकारले सुपरजोन घोषणा गर्दै आएको छ ।

समूहमा खेती गर्न प्रोत्साहित गर्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले किसानलाई ८५ प्रतिशतसम्म अनुदानमा आधुनिक कृषियन्त्र वितरण ग¥यो । पाँच वर्षमा अहिले सिङ्गो पालिकाको कृषि उद्यममा आमूल परिवर्तन आएको छ । हाल झापाको कचनकबलका सात वटै वडामा धान सुपरजोन लागू भएको छ भने झापा जिल्लाका १५ वटै पालिकाका आंशिक वडामा यसलाई विस्तार गरिएको छ । परियोजना अन्तर्गत जिल्लाका केही पालिकामा मकै, रबर र सुपारी जोन समेत लागू भएको छ ।

कनहैयालाल गणेशको १३ जनाको सगोल परिवार छ । करिब ६ बिघा जग्गामा धान, मकै, तोरी, आलु र अरु तरकारीखेती गरिररहेको उनले जानकारी दिए । पूरै परिवार दिनभर खेतीको कामबाट फुर्सद् नपाउने अवस्था छ । धान सुपरजोन अवधारणा लागू भएपछि उनकै अध्यक्षतामा स्थानीय ८३ परिवारले हरित कृषि समूह गठन गरेर पहिलोपटक सामूहिक खेती सुरु गरेका थिए । विसं २०७३ पुस १९ गते सुपरजोनको उद्घाटन भएको थियो । पाँच वर्षमा अहिले पूरै पालिकाभर कृषिमा आधुनिक यान्त्रिकरण भइसकेको छ । जुवामा हलो नारेर खेत जोत्ने कुरा कथा जस्तो हुन लागिसकेको छ ।

हरित कृषि समूहसँग अहिले एउटा धान रोप्ने मेसिन, एउटा बीउ राख्ने मेसिन, तीन सोलार सिँञ्चाइ, पाँच पावर टिलर, एउटा मिनी टिलर, एउटा धान काट्ने मेसिन, १६ मोटर सिँञ्चाइ र एउटा समूह नर्सरी भवन रहेको अध्यक्ष गणेशले जानकारी दिए ।

समूहले ६० बिघा जग्गामा तीन बालीखेती गरिरहेको छ । जग्गा हरेक परिवारको निजी भए तापनि खेती गर्दा सामूहिक रुपमा यन्त्रको प्रयोग, समूहबाटै मल र बीउ खरिद र समूहकै बलमा बिक्री गर्ने प्रणाली बसाइएको उनको भनाइ छ । यसबाट सामूहिक खेती प्रणाली विकसित भइरहेको देखिन्छ ।

“प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आउनुभन्दा अघि हाम्रो खेतमा एकबाली मात्र फल्थ्यो,” कचनकबल–४ फेर्कागाछीका किसान लक्षुमन गणेश भन्छन्,“समूहमाखेती गर्दा फाइदै फाइदा भएको छ । मान्छेले भन्दा बढी मेसिनले काम गरिरहेको छ ।”

उनले १० कठ्ठामा हिउँदे धान लगाइरहेको र त्यो धान आउँदो वैशाखमा फल्ने बताए । सुपरजोन आउनुअघि बर्खामा पानी जमाउन सक्दा एकबाली धान हुने गरेको नत्र वर्षैभरि खेत बाँझो राख्ने गरेको स्मरण गर्दै उनले हाल एक बालीमा एक बिघामा १ सय १० मनसम्म धान फल्ने गरेको जानकारी दिए ।

खाडीबाट खेतीमै फर्किन थाले युवा

कचनकबल गाउँपालिकामा धान सुपरजोनमा १८ समूह आवद्ध छन् । फेर्कागाछीका ४० वर्षीय ललितकुमार गणेशले १० वर्ष वैदेशिक रोजगारीमा बिताए । गाउँमा निर्वाहमुखी खेतीले परिवारको भरणपोषण कठिन भएपछि वैदेशिक रोजगारीमा खाडी भासिएका ललितकुमार र उनका भाइ हंश गणेश प्रधानमन्त्री कृषि परियोजनाले अवसर ल्याएपछि गाउँ नै फर्किएर कृषि पेशामा जोडिनु भएको छ ।

“पहिला पहिला खेतीपातीबाट हातमुख जोर्न मुस्किल थियो र हामी विदेश गएका थियौं,” ललितकुमारले गाउँको अवस्था बदलिएको बताउँदै भने,“अब त तीन बालीखेती हुन्छ । एक बाली तोरी लगाएको छु । दुई बाली धान नै फल्छ । गाउँका मानिस अब विदेश जाने सोचमा कोही पनि छैनन् ।” यन्त्र उपकरणको प्रयोग बढेको हुँदा खेती गर्दा मानिसलाई शारीरिक श्रम पनि कम परेको उनले अनुभव सुनाए ।

यहाँ धान र अरु बालीको उत्पादकत्व बढेको छ । एक बिघामा ४० मन धान फलाउन गाह्रो भएको ठाउँमा अहिले सजिलै प्रति बिघा सय मनभन्दा बढी फलिरहेको छ । स्थानीय उत्पादन बढेसँगै बजारको पनि खासै समस्या नभएको किसान बताउँछन् ।

दमकको किसान बीउ उद्योगलगायतका संस्थाले किसानको खेतमै आएर यहाँको उत्पादन किनेर लैजाने गरेका छन् । तराईमूलका गनगाई, राजवंशी र मुस्लिम समुदायको अधिक बसोबास रहेको यस पालिकामा पहाडी मूलका समुदायको पनि बसोबास छ । गाउँलेहरुले घरमा कुटानीपिसानी गरेको धान र चिउरा अन्यत्रबाट आउने मानिसले उचित मूल्यमा किनेर लैजाने गरेका छन् ।

गाउँभरि कृषियन्त्रको प्रयोग बढेसँगै किसान पावर टिलर, धान रोप्ने मेसिनलगायतका उपकरण चलाउन पोख्त भएका छन् । यान्त्रिक उपकरण चलाउन अनुभवी मानिएका हरित कृषि समूहका अध्यक्ष कनहैयालाल गणेशलाई मेचीनगरको एनएमसी नमूना कृषि परियोजना र जिल्लाभरका ठूला कृषि सहकारीले मेसिन सञ्चालन सम्बन्धी तालिम दिनका लागि बोलाउने गरेका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बनियानी शाखा कार्यालयका प्राविधिक अमृत कार्कीले सुपरजोनका किसानलाई पचास प्रतिशत अनुदानमा कृषियन्त्र दिइने गरिएको र नयाँ मेसिनरी चलाउन परियोजनाले आवश्यक तालिमसमेत प्रदान गर्दै आएको बताए । उनले परियोजना आएपछि कृषि प्रणालीमा क्रान्तिकारी परिवर्तन भएको र यसबाट स्थानीय किसान लाभान्वित भइरहेको बताए ।

मलखाद र अनुदान पुगेन

कृषिमा आधुनिकीकरण गर्ने सरकारी योजना कचनकबल जस्तो दुर्गम पालिकामा सफलतापूर्वक प्रयोग भइरहेको छ । तर, किसानका अनुभव र उपलब्धिका बारेमा पर्याप्त खोजी र अनुगमन नहुँदा किसानका कतिपय कठिनाइको भने सम्बोधन हुन सकेको छैन ।

खासगरी सिंञ्चाइका लागि परियोजनाले दिएका सोलार सिँञ्चाइका उपकरण अत्यन्त न्यून भएको र मलखादको उचित व्यवस्था नभएको किसानको साझा गुनासो छ । भारतबाट चोरी बाटो हुँदै मलखाद भित्र्याउनु परेको किसान बताउँछन् । उनीहरुले किसानले मागेजति सोलार उपकरण र मोटर सिँञ्चाइ उपकरण उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । मोटर सिँञ्चाइमा प्रयोग हुने विद्युत् महसुल निःशुल्क गरिदिनसमेत किसानको माग छ ।

धान सुपरजोन लागू भएपछि यस क्षेत्रमा धानको बर्खे र हिउँदे उत्पादन ह्वात्तै बढेको छ । धान सुकाउने ड्रायर मेसिनको अभावले गर्दा हिउँदे धानमा क्षति पुग्ने र एकैपटकमा धेरै मात्रामा उत्पादन भएको बेला किसानले धानको उचित मूल्य नपाउने गरेको देखिएको छ । सरकारले तोकिदिएको समर्थन मूल्य यहाँ लागू भएको छैन ।
सुरुमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू हुँदा त्यसको प्रमुख मेघनाथ तिम्सिनाले किसानको खेतखेतमा पुगेर यान्त्रिकीकरण गर्न हौसला दिने गरेको स्थानीय किसान सम्झिन्छन् । तर पछिल्ला दिनमा सरकारले उपकरण वितरणमा अनुदान कटौती गर्दै लगेको र पुराना मेसिनको मर्मत सम्भारको व्यवस्था नमिलाएको किसान गुनासो सुनाउँछन् ।

You might also like

Comments are closed.