बनेपा । धुलिखेलको रङ्गशालाको एउटा छेउमा स–साना छाप्रो निर्माण गरिएकोे छ । छाप्राको वरपर कोही सरसफाइ गर्दै, कोही मादल बजाएर नाचिरहेका त कोही साइकल चढिरहेको देखिन्छ । छेउमा दुई व्यक्ति काठको मुढा चिर्दै गरिरहेका बेला अचानक कुनाको एउटा छाप्रोमा आगालागी हुन्छ ।
त्यसैको छेउमा रहेको अर्को छाप्रोमा पनि त्यही आगोको लप्काले भेटेर ह्वरह्वारती अनय छाप्रा पनि बल्न थाल्छ । आगलागीबाट कारण एक जना घाइते भएको देखिन्छ। आगो निभाउन हारगुहार गरेपछि बल्ल सुरक्षाकर्मीको टोली पुगेर आगो नियन्त्रणमा लिने र घाइेतलाई उद्धार गरी उपचारका लागि स्वास्थ्य संस्थामा लैजाने काम हुन्छ ।
यो दृश्य थियो काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–७ स्थित रङ्गशालामा प्रदर्शन गरिएको विपद् व्यवस्थापन न्यूनीकरणका लागि पूर्व तयारीको संयुक्त अभ्यास । नेपाली सेनाको कालीजङ्ग गण, जिल्ला प्रहरी कार्यालय, पाँचखालस्थित सशस्त्र प्रहरी बल १५ नं गण र नेपाल रेडक्रस सोसाईटी बनेपा शाखाको संयुक्त आयोजनामा जुनसुकै बेलामा हुनसक्ने विपद् जोखिम व्यवस्थापनका लागि पूर्व तयारीको क्रममा प्रदर्शन गरिएकोे अभ्यासले सर्वसाधारणलाई विपद्को बेलामा सतर्क रहन र गर्नुपर्ने व्यवहारका सम्बन्धमा सन्देश प्रवाह गरिएको हो ।
प्राकृतिक प्रकोपका बेलामा सुरक्षा फौज नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल रेडक्रस तथा अन्य सरोकारवाला सङ्घ संस्थासँगको समन्वयमा विपद् व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा नमूना कार्य प्रदर्शन गरिएको कालिजङ्ग गणका उपसेनानी अनिश बाँस्कोटाले बताए ।
पहिलो चरणमा आगलागी नियन्त्रणसम्बन्धी प्रदर्शन, दोस्रो चरणमा भूकम्पको बेला घरभित्र फसेका व्यक्तिलाई उद्धार र ग्यास चुहावट भएर हुनसक्ने जोखिमको न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने विषयमा नमूना प्रदर्शन गरिएको थियो ।कार्यक्रममा धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले पूर्वतयारी, दर्घटना हुँदा गरिने उद्धार र पुनःस्थापना गर्ने काममा स्थानीय सरकार र सुरक्षा निकायबीच समन्वय आवश्यक रहेको बताए ।
त्यसका लागि स्थानीय सरकारले मत्र नभएर तीनै तहका सरकारले मिलेर काम गर्न आवश्यक रहेको र विपद् व्यवस्थापनका उद्धारका सामग्री सबै वडा र टोलसम्म पु¥याउन आवश्यक रहेको बताए ।प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले विपद् व्यवस्थापन ऐनले उल्लेख गरेको ४३ प्रकारका विपद्लाई व्यवस्थापन गर्न कुनै पनि समयमा तयारी रहन सचेत हुनुपर्नेमा जोड दिइन् । सो अवसरमा विपद् व्यवस्थापनमा प्रयोग हुने सामग्री प्रदर्शन गरिएको थियो ।
Comments are closed.