पुनरुत्थानशीलता विश्लेषण तथा जीविकोपार्जनसम्बन्धी विस्तृत अध्ययन कार्यशाला

भक्तपुर । खाद्य सुरक्षा, पोषणमा सुधार एवं दिगो कृषि प्रवद्रधन र विपद् व्यवस्थापनजस्ता दिगो विकासका लक्ष्यहरू हासिल गर्न स्थानीय सरकार सक्रिय हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

संयुक्त राष्ट्रसङ्घ विश्व खाद्य कार्यक्रमको सहकार्य, जिल्ला समन्वय समिति भक्तपुरको समन्वय र राष्ट्रिय योजना आयोग, बागमती प्रदेश नीति तथा योजना आयोगद्वारा बिहिबार यहाँ आयोजित ‘पुनरुत्थानशीलता विश्लेषण तथा जीविकोपार्जनसम्बन्धी विस्तुत अध्ययन’ कार्यशालामा उनीहरुले दिगो विकासका लक्ष्यहरू हासिल गर्न स्थानीय सरकार सक्रिय हुनुपर्नेमा जोड दिएका हुन् ।

भोकमरीको अन्त्य, खाद्य सुरक्षा, पोषणमा सुधार एवं दिगो कृषि प्रवद्र्धन, विपद् व्यवस्थापन जस्ता दिगो विकासका लक्ष्यहरू हासिलका बारेमा विस्तृत अध्ययन गर्न जिल्लाका चारवटै नगरपालिकाका जनप्रतिनिधि, कृषि तथा विपद् व्यवस्थापनसम्बन्धी सरोकारवाला निकायका प्रतिनिधिले भक्तपुरको अवस्थाका बारेमा चित्रण गरेका थिए ।

कार्यक्रममा बागमती प्रदेश नीति तथा योजना आयोगका सदस्य राजु नेपालले बागमती प्रदेशका १३ वटै जिल्लामा पुनरुत्थानशीलता विश्लेषण तथा जीविकोपार्जनसम्बन्धी विस्तुत अध्ययन गर्ने लक्ष्यका साथ आयोजना गरिएको कार्यक्रमले जलवायु परिवर्तनले पारेको असर र जीविकोपार्जनमा ल्याएको समस्याका बारेमा यथार्थ चित्रण आउने बताए ।

जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुँवरले भक्तपुरमा धोकरीको अवस्था खासै नभए पनि विपद् व्यवस्थापनको जोखिम उच्च रहेको र जलवायु परिवर्तनका कारण समयमै वर्षा नहुने तथा सिँचाइको अभावले कृषि उत्पादनमा प्रभाव पारेको बताए । इँटा भट्टाले पनि यहाँको वायु प्रदूषण बढाउँदा उत्पादनलाई असर परेको भन्दै उनले दिगो विकासका लक्ष्यहरू हासिल गर्न स्थानीय तहले विषयगत रुपमा चासो दिएर लाग्नुपर्ने आवश्यकता आँैल्याए । जलवायु परिवर्तनले पछिल्लो पुस्तामा चिन्ता बढाएको उनको भनाइ थियो ।

कार्यशालामा संयुक्त राष्ट्रसङ्घ विश्व खाद्य कार्यक्रम बागमती प्रदेशका संयोजक राजु क्षेत्रीले पुनरुत्थानशीलता विश्लेषण, जलवायु परिवर्तनको असर र जीविकोपार्जनमा ल्याएको समस्याका बारेमा जानकारी गराउँदै सो सम्बन्धी कार्यपत्र प्रस्तुत गरे । तापक्रम र वर्षाको परिदृश्य निर्माण, भविष्यमा हुने जलवायु परिवर्तनको अवस्था, शून्य भोकमरीका लागि खाद्य सुरक्षा रणनीति तथा नीति निर्माणका लागि प्रमाण, खाद्य सुरक्षा विश्लेषणका लागि सूचनाको स्रोत र आर्थिक सर्वेक्षणका लागि उपयुक्त क्षेत्रको छनोट अध्ययनको उद्देश्य रहेको उनले जानकारी दिय ।

संयोजक क्षेत्रीले बागमती प्रदेशका १३ जिल्लाका लागि सुरु गरिएको पुनरुत्थानशीलता विश्लेषण तथा जीविकोपार्जनसम्बन्धी विस्तृत अध्ययन कार्यशाला मकवानपुर, चितवन, सिन्धुली, धादिङ, नुवाकोट, रामेछाप, दोलखा, सिन्धुपाल्चोक र भक्तपुरमा सम्पन्न भएको जानकारी दिदैं काठमाडौं र ललितपुरमा पनि सो अध्ययन गरिने बताए ।

कार्यक्रममा भोकमरीको लक्ष्य प्राप्तिका क्षेत्रहरु पहिचान, प्रगति मापनका आधारहरुको तय गर्ने, खाद्य सुरक्षा मापन एवं विश्लेषण गर्दै यसको सुनिश्चितता र जलवायु अनुकूलनका बारेमा छलफल गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालय भक्तपुर, भक्तपुर, चाँगुनारायण, मध्यपुरथिमि, सूर्यविनायक नगरपालिका, कृषि ज्ञान केन्द्र, कृषि शाखा, विपद् व्यवस्थापन शाखा, डिभिजन वन कार्यालय, उद्योग वाणिज्य सङ्घ, नेपाल रेडक्रस सोसाइटी, राष्ट्रिय किसान महासङ्घ, पशु तथा भेटेरिनरी अस्पताल, पत्रकार महासङ्घलगायतका प्रमुख तथा प्रतिनिधिले कृषि उत्पादनका लागि परिवर्तित अवस्था, कृषि रोग र समस्याको पहिचान, त्यसको समाधान खोज्दै भूगोल र मौसमअनुसार कृषि उत्पादनमा कृषकलाई जोड्नुपर्ने बताएका थिए ।

lcci
You might also like

Comments are closed.