सामुदायिक वनद्वारा महिलालाई सीप प्रदान

कञ्चनपुर । कृष्णपुर नगरपालिका–६ बञ्जरीयास्थित महाकाली सामुदायिक वन परम्परागत सीपलाई परिस्कृत गरी बेरोजगार अवस्थामा रहेका महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउन जुटेको छ ।

सामुदायिक वनले आन्तरिक आम्दानीको केही हिस्सा महिलालाई सीप सिकाइ आत्मनिर्भर बनाउन खर्चंदै आएको छ । वन क्षेत्रमा पाइने कच्चापदार्थमा आधारित उद्योग सञ्चालन गर्न महिलालाई सीप सिकाउने कार्य गरिएको सामुदायिक वनका अध्यक्ष वीरबहादुर राजवंशीले बताए । उनका अनुसार महिलालाई दुनाटपरी, बाँस–बेतका मुढा, लेहङ्गा चोली बनाउनेलगायतका तालिम दिइएको छ ।

“सामुदायिक वनको आम्दानीले वन विकाससँगै महिला सशक्तीकरण, उद्यम विकास र गरिबी न्यूनीकरणका लागि कार्यक्रम सञ्चालन हुँदै आएका छन्”, राजवंशीले भने, “चुलोचौको र घरायसी कामबाट फुर्सद नपाउने महिला अहिले तालिम लिएर व्यवसाय सञ्चालन गरी घर खर्च चलाउन सक्षम भएका छन् ।”

jutta mela

“बजारमा बेच्न राखिएको मुढा कसरी बन्छ होला भनेर सोच्ने गर्दथे”, स्थानीय सीता कठायतले भनिन्, “सीप सिकेर आफैं मुढा बनाउन थालेपछि यसको महत्व बुझे, बनाउन मेहनत धेरै लाग्ने भए पनि आम्दानी राम्रो हुने गरेको छ ।” यो कामबाट घरायसी खर्च चल्न थालेको उनले बताइन् ।

श्यानीदेवी चौधरीले दुनाटपरी बिक्री गरी घर खर्च चलाउने गरेकी छन् । सामुदायिक वनले रु एक लाख ५० हजार लगानी गरी ६० जना महिलालाई सीपमूलक कार्य सिकाइ व्यावसायिक बनाएको छ ।

तालिम लिएर व्यावसायिक बनेका महिलालाई पूँजीको अभाव हुन नदिन टोल समिति गठन गरी सोहीमार्फत घुम्ती कोष खडा गरी ऋणका रुपमा रकम लगानी गर्दै आएको छ । जसबाट सामुदायिक वनका धेरै उपभोक्ताले व्यावसायिक कार्यमा लगानी गरी आम्दानी गर्दै आएका छन् ।

जिल्ला सामुदायिक वन समन्वय समितिका उपाध्यक्ष पुनाराम चौधरी सामुदायिक वनले जीविकोपार्जनको कार्यसँगै संरक्षणको कार्यलाई अगाडि बढाइ उदाहरणीय कार्य गरेको बताउछन् ।

सामुदायिक वनका उपभोक्ताले ‘राहत होइन, रोजगारी देऊ, पैसा होइन सीप देऊ’ भन्ने नारालाई अघि सार्दै व्यावसायिक बन्दै गएको उनको भनाइ छ ।

 

You might also like

Comments are closed.