‘डोजर मालिक आफैँ अपरेटर र इञ्जीनियर बन्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ’

बागलुङ । बागलुङ नगर क्षेत्रमा अबदेखि जथाभावी सडक भत्काउन नपाइने भएको छ । नवनिर्वाचित नगरप्रमुख वसन्तकुमार श्रेष्ठले मनपरीरूपमा नयाँ सडक मार्ग खोल्न नदिइने जानकारी दिए ।

पद सम्हालेपछिको पहिलो पत्रकार अन्तक्र्रियामा बोल्दै उनले अत्यावश्यक ठाउँमा सडक खन्न परे सम्बन्धित वडाको सिफारिस र कार्यपालिका बैठकको निर्णय चाहिने उल्लेख गरे । “भएका सडकलाई स्तरोन्नति गरिन्छ, बाह्रैमास चल्ने बनाइन्छ”, उनि भन्छन्, “डोजर मालिक आफैँ अपरेटर बन्ने, आफैँ इञ्जीनियर बन्ने प्रवृत्तिको अब अन्त्य गर्नुपर्छ ।”

उनले सडक पु¥याउन आवश्यक देखिएका ठाउँमा नगरपालिकाका इञ्जीनियरबाट प्राविधिक नापजाँच गरेर मात्र काम अघि बढाइने बताए । नगरप्रमुख श्रेष्ठले मनलागीरूपमा जहाँ पायो त्यहीँ सडक खन्ने कुरालाई कडाइका साथ रोकिने प्रतिबद्धता जनाए । “अबको कार्यपालिकाबाट बैठकले यस विषयमा निर्णय नै गर्छ”, उनले भने ।

jutta mela

जथाभावी सडक खन्दा भूस्खलन बढ्ने, प्राकृतिक प्रकोप निम्तने र गाउँठाउँको सौन्दर्य पनि नासिने भएकाले कडाइ गर्न लागिएको हो । नगरप्रमुख श्रेष्ठले वर्षायाममा बाढीपहिराका कारण हुनसक्ने सडक अवरोधलाई दृष्टिगत गरी उपकरण र जनशक्तिलाई तयारी हालतमा राखिने बताए । यस्तै ग्रामीण भेगको सडकको सफाइ र मर्मतसुधारको कामलाई पनि तत्कालै अघि बढाइने उनले उल्लेख गरे ।

“पक्की सडकमा खाल्डाखुल्डी परेमा तत्कालै कालोपत्र गर्न मिल्ने उपकरण नगर आफैँले किन्छ, त्यसका लागि आउँदो आवमा बजेट छुट्याउँछौँ”, उनले भने, “नगर चक्रपथलगायत ठूला सडक आयोजनाका लागि सङ्घ र प्रदेश सरकारबाट बजेट पार्न पहल सुरु गरिसकेका छौँ ।”

‘हाम्रो बागलुङ, हामी बनाउँछौँ’ भन्ने भावका साथ सबै पक्षलाई समेटेर नगरको सामाजिक, आर्थिक विकासको खाका कोर्ने उनले बताए । “चुनावी प्रतिबद्धतापत्रअनुसार विकास योजना र प्रशासनिक सेवा प्रवाहलाई व्यवस्थित बनाउँछौँ”, उनले भने ।

पत्रकारहरूले नगर क्षेत्रका जल्दाबल्दा समस्याबारे नगरप्रमुखको ध्यानाकर्षण गराएका थिए । अस्तव्यस्त ट्राफिक, ढल निकास, खानेपानी, सडक, फोहर व्यस्थापन, स्वास्थ्य, शिक्षालगायत विविध क्षेत्रका समस्या समाधानमा नगरपालिकाले पहल गर्नुपर्नेमा जोड दिइएको थियो ।

नगरप्रमुख श्रेष्ठले पद बहालीपछिको पहिलो निर्णय एक वर्षभित्रैमा बागलुङलाई बालमैत्री नगर बनाउने घोषणा गरेका थिए । विकास र सुशासनमार्फत पाँच वर्षभित्रमा समुन्नत नगरको आधार खडा गरिने उनको भनाइ छ ।

You might also like

Comments are closed.