काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले झाडापखाला तथा अन्य रोगबाट बच्न सडक छेउछाउका खुल्ला स्थानमा बिक्री वितरणमा राखिएका खाना खानबाट जोगिन आम उपभोक्तलाई आग्रह गरेको छ ।
केही दिनयता उपत्यका तथा उपत्यकाबाहिर केही स्थानमा झाडापखालाका रोगी बढ्न थालेपछि विभागले उपभोक्तालाई सचेत रहन आग्रह गरेको हो । वर्षायाम तथा गर्मी मौसममा विभिन्न रोगका हानिकारक सुक्ष्म जीवाणुको सङ्क्रमण बढ्ने सम्भावना भएकाले सडक छेउछाउमा खुल्ला रुपमा तयारी एवं बिक्रीवितरण हुने खाद्य पदार्थ स्वास्थ्यका लागि हानिकारक हुने चिकित्सकले सार्वजनिक रुपमा आ-आफ्नो धारण व्यक्त गर्दै आएका छन् ।
खाद्य ऐन २०२३ ले खाद्य पदार्थ बिक्रेताले बिक्री स्थल तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान र स्वच्छ पिउने पानी प्रयोग गर्नुपर्ने उल्लेख छ । खाद्य पदार्थको स्वच्छता कायम नगरी अनुचित तबरले तयारी एवं बिक्री वितरण गरेको पाइएमा सम्बन्धित खाद्य व्यवसायीलाई खाद्य ऐन-२०२३ अनुसारको कानुनी कारबाही हुने ऐनमा व्यवस्था गरिएको छ ।
उक्त ऐनको बर्खीलाप गरेमा ऐनको दफा-५ ले पाँच वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरेको छ ।ऐनको दफा ५ को उपदफा ३ मा अस्वस्थ खानाबाट कसैलाई हानी नोक्सानी पुर्याएमा त्यस्तो कसुरदाताबाट सम्बन्धित पीडितलाई मनासिव क्षतिपूर्तिसमेत भराइदिनुपर्ने कानुनमा व्यवस्था छ । खाद्य पदार्थको बिक्री वितरण गर्दा अनिवार्य रुपमा पञ्जा, मास्क, टाउँको छोप्ने टोपी अनिवार्य रुपमा लगाउने पर्ने हुन्छ ।
Comments are closed.