पोखरा । कमजोर आर्थिक अवस्थाले बीचमै विद्यालय छोड्न बाध्य बालिकाहरुलाई विद्यालयमा निरन्तरताका लागि शक्ति समुहले शैक्षिक सहयोग गरेको छ ।
मानव बेचविखनविरुद्धको सवालमा काम गरिरहेको संस्था शक्ति समुहले राष्ट्रिय बाल दिवसको अवसर पारेर पोखरा महानगरभित्रका ५ वटा विद्यालयमा आज “ओ यु आर”को आर्थिक सहयोगमा सञ्चालित परियोजनामार्फत सहयोग उपलब्ध गराइएको हो । पोखराका तालबाराही मावि, धर्मस्थली आधारभुत विद्यालय, सरस्वती आधारभुत विद्यालय, ज्ञानभुमि मा.वि र मसिना आधारभुत विद्यालयका २५ जना बालिकालाई झोला, पोशाक, स्विटर, जुत्ता, मोजा, कापी, कलम, क्यालकुलेटरलगायत एक वर्षको शैक्षिक सामग्री सहयोग गरिएको हो ।
अति आवश्यक अनि आर्थिक अवस्था कमजोर भएका बालिकाहरुलाई पोखरा महानगरपालिकाको शिक्षा महाशाखासँग समन्वय गरी विद्यालय निरन्तरताको लागि शैक्षिक सामाग्री वितरण गरिएको शक्ति समुहका गण्डकी प्रदेश संयोजक सरिता पौडेलले बताइन् ।
वितरण गरिएको सामग्रीबाट विद्यालय र विद्ययार्थीले सही प्रयोग गरी आफ्नो पढाईलाई निरन्तरता दिनुपर्छ भन्दै आवश्यकता परेको ठाउँमा राज्यबाट पनि अभियान चलिरहेकोले यस अभियानमा शक्ति समुहको सहयोगले थप सहयोग गर्ने पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले बताए ।
कार्यक्रममा शक्ति समुहका कार्यकारी निर्देशक बालकुमारी दर्लामीले संस्थाले मानव बेचबिखनविरुद्धको सवालमा गर्दै आएका कामका बारेमा जानकारी दिँदै यस शैक्षिक सामाग्रीलाई शक्ति समुहको मायाको चिनोको रुपमा ग्रहण गरी आफ्नो पढाईलाई निरन्तरता दिन थप टेवा पुग्ने विश्वास व्यक्त गरिन ।
Comments are closed.