१३औं नेशनल प्याब्सन खेलकुद महोत्सव-२०७९ हुने

कास्की । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (नेशनल प्याब्सन) कास्कीको आयोजनामा यही मङ्सिर २० गतेदेखि २३ गतेसम्म १३औं नेशनल प्याब्सन खेलकुद महोत्सव–२०७९ हुने भएको छ ।

महोत्सवबारे जानकारी दिने उद्देश्यले आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा नेशनल प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले “एन प्याब्सन कास्कीको मान्यताः विद्यालय शिक्षामा खेलकुदको अपरिहार्यता” भन्ने नारासाथ महोत्सव गर्न लागिएको बताए ।

पोखरा रङ्गशालामा गर्न लागिएको महोत्सवबाट एन प्याब्सनसँग आबद्ध विद्यालयको शैक्षिक एवं सहक्रियाकलाप लगायत विविध क्षेत्रको उन्नति र प्रगतिमा टेवा पुग्ने विश्वास लिइएको उनले बताए।

आधारभूत र माध्यमिक तहमा छात्र र छात्रा समूहमा विभिन्न विधामा खेल खेलाउन लागिएको उनले जानकारी दिए। एन प्याब्सन कास्कीमा ५० विद्यालय आबद्ध रहेका वरिष्ठ उपाध्यक्ष शिवदत्त तिवारीले बताए ।

महोत्सवमा सात हजार खेलाडी प्रतिस्पर्धामा सहभागी बन्ने र लगभग २५ हजार अभिभावकले अवलोकन गर्ने अनुमान गरिएको उनले जानकारी दिए ।

You might also like

Comments are closed.