माघदेखि मदिरा, चुरोट र गुट्खा उद्योगले ई-बिलिङ गर्नुपर्ने

काठमाडौं । आगामी माघदेखि मदिरा, चुरोट, गुट्खा र सुर्ती उद्योगले अनिवार्यरुपमा विद्युतीय बीजक (ई-बिलिङरकम्प्युटर बिलिङ) जारी गर्नुपर्ने भएको छ ।

आन्तरिक राजस्व विभागले गत बिहीबार एक सूचना जारी गर्दै त्यस्ता उद्योगलाई ई–बिलिङ प्रणालीमा आवद्ध हुन भनेको हो । माघपछि मदिरा, वियर, वाइन, स्प्रिट, चुरोट र गुट्खा उत्पादन गर्ने उद्योगले कारोबारमा अनिवार्यरुपमा ई-बिलिङ गर्नुपर्ने छ । त्यस्तै, गत आर्थिक वर्षमा वार्षिक रु पाँच करोडभन्दा बढीको कारोबार गर्ने सुर्तीजन्य उद्योगमा पनि यस्तो व्यवस्था लागू हुनेछ ।

विभागले विद्युतीय बीजकसम्बन्धी कार्यविधि, २०७४ कार्यान्वयन गरेपछि विभिन्न वस्तुको कारोबारमा ई-बिलिङ अनिवार्य गर्दै आएको छ । कार्यविधि लागू भएसँगै २०७५ सालबाट वार्षिक रु पाँच करोडभन्दाबढीको कारोबार गर्ने होटल, रेस्टुराँ तथा चमेनागृह र इन्टरनेट सेवा प्रदायकलाई विद्युतीय बीजक जारी गर्नुपर्ने व्यवस्था लागू भएको थियो । त्यस्तै, वार्षिक रु १० करोडभन्दा बढीको कारोबार गर्ने डिपार्टमेन्टल स्टोर, मार्ट र फ्लोरिङ तथा फर्निसिङको कारोबार गर्ने करदातालाई पनि विद्युतीय बीजक अनिवार्य गरिएको थियो ।

विभागले गत साउनयता मूल्य अभिवृद्धि कर (भ्याट) तथा आय विवरणमध्ये कुनै एकको कारोबार वार्षिक रु १० करोडभन्दाबढी भएका त्यस्ता जुनसुकै वस्तु तथा सेवाको कारोबार गर्ने करदातालाई ई-बिलिङ प्रणालीमा आवद्ध हुन भनेको थियो । त्यसैगरी, बक्सअफिस प्रणालीमा आबद्ध भएका देशभरका सिनेमा हलमा पनि ई-बिलिङ लागू भइसकेको छ ।

विद्युतीय माध्यमबाट बीजक जारी गर्ने करदाताले विभागमा सूचीकरण गरिएका विद्युतीय उपकरण र सफ्टवेयर मात्र प्रयोग गर्न पाउँछन् । ई-बिलिङ प्रणालीमा आवद्ध भएपछि केन्द्रीय बीजक अनुमगन प्रणाली (सिबिएमएस)मार्फत् करदाताको कारोबारको विवरण विभागले प्राप्त गर्छ र सोहिअनुसार कर निर्धारण हुन्छ ।

कर लेखा प्रणालीलाई विश्सनीय, पारदर्शी र व्यवस्थित बनाउन विद्युतीय बीजक जारी गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याइएको विभागले जनाएको छ । यो व्यवस्था अनिवार्य गरिएका बाहेक अन्य करदाताले पनि स्वेच्छिक रुपमा विद्युतीय बीजक जारी गर्न सक्नेछन् । रासस

You might also like

Comments are closed.