‘सहकारीलाई सुधार गर्न आन्तरिक व्यवस्थापन र सुशासनमा ध्यान दिन जरुरी’

दमौली । सहकारी क्षेत्रलाई प्रभावकारीरुपमा सञ्चालन गरी सदस्यहरुको आर्थिक सामाजिक रुपान्तरणममा थप योगदान गर्ने बनाउनका लागि सहकारी संस्था सञ्चालनमा आन्तरिक व्यवस्थापन र सुशासनलाई सुधार गर्नु पर्नेमा जोड दिइएको छ ।

गण्डकी प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय पोखरा र राष्ट्रिय सहकारी बैंक लिमिटेड दमौली शाखाले बुधवार दमौलीमा आयोजना गरेको सहकारीका समसामयिक विषयकसम्बन्धी अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् । पछिल्लो समय केही सहकारीहरुमा देखिएको वित्तीय समस्यालाई लिएर आम समुदायमा सहकारीलाई हेर्ने दृष्टिकोणमा अन्योलता आएको चर्चा गर्दै सहभागीहरुले सहकारी संघ संस्थाहरुले सञ्चालन प्रक्रियालाई व्यवस्थित गर्दै सदस्यहरुलाई सहकारीका बारेमा यथार्थ जानकारी गराउनु पर्नेमा जोड दिएका थिए ।

सबै सहकारीमा समस्या देखिएको होइन, कतिपय सहकारीहरुले सुशासनमा सहकारी नचलाएका कारण सबै सहकारी उस्तै हुन भन्ने परेको छ, कार्यक्रमका प्रमुख अतिथि व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले भने, ‘सहकारीमा देखिएका समस्यालाई समाधान गर्न सबै सरोकारवालाहरुले एकतावद्ध भएर प्रयास गर्नु पर्दछ ।’

jutta mela

त्यस्तै, प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार रमेश घर्तिले सहकारीहरुलाई सुशासनयुक्त र पारदर्शी रुपमा सञ्चालनका लागि सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । उनले सहकारी ऐन नियम र संस्थाले बनाएको विनियम अनुसार नचलेका सहकारीहरुलाई नियममा बसेर सञ्चालन गर्न आग्रह गरे ।

नियमनकारी निकायले केही गर्दैन भन्दै सहकारीलाई आफुखुशी सञ्चालन गर्नेहरुको पहिचान गरी कार्वाही प्रक्रिया अगाडि बढाइएको भन्दै उनले जे गरे पनि केही हुँदैन भन्ने मानसिकता त्यागेर नियमअनुसार संस्था सञ्चालन नगर्नेलाई कार्वाहीको दायरामा ल्याइने बताए ।

त्यस्तै, कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले बैंकका बारेमा र प्रदेश रजिष्ट्रार कार्यालयका अधिकृत चोलाकान्त वाग्लेले सहकारी कानुन, समसामयिक अवस्थाका बारेमा प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा केन्द्रीय दुग्ध सहकारी संघका वरिष्ठ उपाध्यक्ष अमर बहादुर कुँवर, जिल्ला सहकारी संघ तनहुँका अध्यक्ष श्रीप्रसाद भट्टराई, वचत तथा ऋण सहकारी संघका महासचिव प्रदिप अधिकारी, जिल्ला कृषि सहकारी संघका निवर्तमान अध्यक्ष रामजीप्रसाद लौडारीलगायतले सहकारीमा देखिएका समस्या र समाधानका उपायका बारेमा चर्चा गरेका थिए ।

कार्यक्रम प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार रमेश घर्तिको अध्यक्षता भएको कार्यक्रमको राष्ट्रिय सहकारी बैंक दमौली शाखाका प्रमुख उपेन्द्र दाहालले सञ्चालन गरेका थिए ।

You might also like

Comments are closed.