पत्रकार महिलाको अनलाइन सूरक्षाका लागि कानूनी व्यवस्थाको खाँचो

काठमाडौं । सञ्चार माध्यममा कार्यरत महिला पत्रकारले आफुहरु माथि विभिन्न माध्यमबाट अनलाइन हिंसा हुने गरेकोले साइबर सुरक्षा सम्बन्धी सशक्त कानुन आवश्यक भएको बताएका छन् ।

सञ्चारिका समूहले सोमबार आयोजना गरेको “पत्रकार महिलाका लागि अनलाइन सुरक्षा निर्देशिका”सम्बन्धी अन्तिम चरणको छलफलमा सहभागि सबैले निर्देशिका कार्यान्वयनमा जोड दिएका हुन् । विभिन्न सामाजिक सञ्जाल मध्ये सबैभन्दा बढी फेसबुक र फेसबुक म्यासेन्जरबाट हिंसा हुने गरेको भन्दै सहभागिले त्यस्ता हिंसाबाट जोगिन साइबर अपराधको छुट्टै कानुन र पत्रकारहरुको सुरक्षाका लागि समुन्नत निर्देशिका आवश्यक रहेको बताएका छन् ।

कार्यक्रममा मानवअधिकार आयोगका सदस्य मनोज दवाडीले समाज रूपान्तरण गर्ने पत्रकारले भयरहित वातावरणमा कामगर्न पाउनुपर्ने बताए । उनले कुनै पनि प्रकारको हिंसा पत्रकारको मात्र नभएर समग्र समाजको एजेन्डा भएको बताए ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा.वैकुण्ठ अर्यालले यसको लागि सञ्चार र सरोकारका बिषयमा स्पष्ट धारणा आउनुपर्ने र निर्देशिका बनाउँदा गहन अनुसन्धानमा आधारित हुनुपर्ने बताए ।

jutta mela

उनले विभिन्न संस्थाबाट तयार भएका सुरक्षा निर्देशिका समेटेर उन्नत निर्देशिका बनाउने प्रतिवद्धता व्यक्त गरे ।न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगिता खड्काले हिंसामा परेका कारण पत्रकारको कामको गुणस्तरमा असर परेको, जिम्मेवारी हेरफेर हुने गरेको, सहकर्मी र साथीभाइले आफूलाई हेर्ने दृष्टिकोणमा परिवर्तन भएको, जागिर नै छोड्नु परेको र त्यसको असर दिर्घकालिन हुने गरेको बताइन् ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले फरक फरक निर्देशिका बनाएर थन्क्याएर मात्र नहुने भन्दै मूल निर्देशिका कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले सबैले निर्भयका साथ पत्रकारिता गर्नका लागि राज्यले भरपुर सुरक्षाको प्रत्याभुती दिनेमा आफू विश्वस्त रहेको बताए ।

पोखरेलले पत्रकार महिला माथि हुने यस्ता हिंसालाई निरुत्साहन गर्न नीतिगत सुधार,स्पष्ट कानुनको व्यवस्था र सम्मुन्नत निर्देशिका आवश्यक रहेको बताए ।प्रहरी वरिष्ठ उपरीक्षक चन्द्र कुबेर खापुङले निर्देशकामा अनलाइन सुरक्षाका लागि कानुनी कार्वाहीलाई कडा बनाउनु पर्ने र बिशेष किसिमको सजाय उल्लेख हुनुपर्ने बताए ।

सञ्चारिका समूहका निवर्तमान अध्यक्ष नितु पण्डितले प्रविधिले हामीलाई केही राम्रो र केही नराम्रो कुरा दिएकोले महिला पत्रकारले डिजीटल हिंसा भोग्नु परेको बताइन् । उनले डिजिटल साक्षरताको कमि र पत्रकारका व्यावसायिकताको कमिका कारण हिंसा बढेको बताइन् ।
पत्रकार अनिता गुरुङले निर्देशिका तयार गरेर कार्यान्वयनको पाटोमा बिशेष जोड दिनुपर्ने बताइन् ।

छलफलमा सहभागिहरुले अनलाइन हिंसाको उजुरी गर्नकालागि सहज कानुनी र प्रक्रियागत व्यवस्था गरिनुपर्ने, दर्ता गर्ने निकायमा रहेका प्रहरी र अन्य कर्मचारीको क्षमता बढाउनुपर्ने, कार्यस्थलमा त्यस्ता हिंसा रोक्नका लागि गुनासो सुनुवाइको संयन्त्र स्थापना गरी फोकल पर्सन तोकिनुपर्ने र साइबर सुरक्षा सम्बन्धी सशक्त कानुन कार्यान्वयनमा ल्याउनुपर्ने लगायतका सुझाव दिएका छन् ।

You might also like

Comments are closed.