विदेशमा रहेका नेपालीको सहयोगमा पदमार्ग निर्माण

काठमाडौं । पदमार्गका लागि विदेशमा रहेका बिहुँकोटेले जुुटाएको सहयोगमा काठेखोला गाउँपालिका-५ स्थित धार्मिक पर्यटकीयस्थल रामकोटधाममा पदमार्ग निर्माण भएको छ । वडा नं ६ शान्तिचोकदेखि त्रिपुरेश्वर महादेव मन्दिर जोड्ने गरी सात सय २५ मिटर लामो पदमार्ग बनाइएको हो ।

पदमार्गका लागि विदेशमा रहेका बिहुँकोटेले आर्थिक सहयोग जुटाएको निर्माण उपभोक्ता समितिका अध्यक्ष खगराज कँडेलले बताए । “जापान, अमेरिका, युरोपदेखि विभिन्न देशमा रहनुभएका बिहुँकोटे यो अभियानमा जोडिनुभएको छ”, उनले भने, “अहिलेसम्म झण्डै रु ६० लाख विदेशबाट आएको छ, थप सहयोग जुट्दैछ ।”

पदमार्गमा गाउँपालिकाको रु तीन लाख बजेट परेको छ । यस वर्ष नाली निर्माणका लागि रु ७५ हजार मात्र छुट्याइएको जनाइएको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको रु छ लाख बजेट पनि पदमार्गमा खर्च भएको छ । चालु आवमा प्रदेश सरकारबाट रेलिङ निर्माणका लागि रु पाँच लाख बजेट आएको समितिले जनाएको छ ।

jutta mela

जापानमा रहेका प्रेम कँडेलको नेतृत्वमा आर्थिक संकलन अभियान चलाइएको थियो । पदमार्गमा प्रवेशद्वार, रेलिङ, विश्रामस्थललगायतका काम छिट्टै सुरु गरिने समितिले जनाएको छ । रु २५ लाख बजेट भएमा बाँकी संरचना निर्माणले पूर्णता पाउने अध्यक्ष कँडेलले बताए । पदमार्ग बनाउन विदेशमा रहेका नेपालीबाट ठूलो सहयोग भित्रिए पनि राज्यका निकायको लगानी भने न्यून छ ।

उक्त बजेटबाट झण्डै आधाजति दूरीमा रेलिङ राखिने भएको छ । पदमार्गसँगै ऐतिहासिक बिहुँकोट संरक्षणको योजना पनि अघि बढाइने भएको छ । सो योजनाका लागि पनि प्रवासीबाट थप सहयोग जुटाउन पहल भइरहेको छ । दुवै योजनामा झण्डै रु डेढ करोड लाग्ने अनुमान छ ।

पदमार्ग बनाउँदा ताराखोलाको स्लेट ढुङ्गासहित स्थानीय स्रोत र सीपको प्रयोग गरिएको छ । पर्यटनमैत्री हिसाबले पदमार्ग बनेको वडा नं ५ का पूर्वअध्यक्ष शिवप्रसाद कँडेलले बताए । पदमार्गको दायाँबायाँ वरपिपल, स्वामीलगायत धार्मिक महत्वका बोटवृक्ष लगाइएको छ ।

“पदमार्ग बनेपछि धार्मिक पर्यटकदेखि स्थानीयवासीको आउजाउसमेत सहज बनेको छ”, पूर्ववडाध्यक्ष कँडेलले भने । “पदमार्गले रामकोटधामको पर्यटकीय आकर्षण थप बढाएको छ ।” रामकोटधामलाई धार्मिक पर्यटनको आकर्षक गन्तव्य बनाउन राज्यका निकायदेखि जनस्तरबाट लगानी र सहयोग जुटिरहेको छ । त्यस क्षेत्रको समग्र विकासका लागि गुरुयोजना बनाएर काम थालिएको गाउँपालिकाका अध्यक्ष राजु थापाले बताए ।

रामकोटधाममा रहेको त्रिपुरेश्वर महादेव मन्दिरमा शिवरात्रि, अक्षयतृतीया र बर्सेनि जेठ ११ गते विशेष पूजाआजासहित मेला लाग्छ । मन्दिरमा भारतको नर्मदा नदीबाट ल्याइएको पाँच सय किलो बराबरको शिवलिङ्ग छ । मन्दिर परिसरमा उत्खनन गर्दा फेला परेका बसाहा, करुवा, कलसलगायतका ऐतिहासिक बस्तु पनि सङ्ग्रह गरेर राखिएको छ ।

त्यहाँ परमानन्द सन्यास आश्रम पनि छ । रामकोटधाममा विसं २०३१ देखि २०५६ सम्म परमानन्द संस्कृति गुरुकुल पाठशाला पनि सञ्चालनमा रहेको थियो । सशस्त्र द्वन्द्वको प्रभावले पछि उक्त गुरुकुल देवघाटधाममा सारिएको थियो ।

सोही गुरुकुललाई पुनः रामकोटधाममै सञ्चालन गर्ने उद्देश्यले बिहीबारदेखि ‘बिहुँकोट धार्मिक महोत्सव–२०७९’ सुरु गरिएको छ । रामकोटधामका संस्थापक दिवङ्गत स्वामी श्री १००८ परमानन्द सरस्वती महाराजले गुरुकुल स्थापना गरेका थिए ।

रामकोटधामबाटै संस्कृत गुरुकुल चलाउने ध्येयले धार्मिक महोत्सव आयोजना गरिएको महोत्सवका प्रमुख संकल्पकर्ता बिहुँकोट अन्तर्राष्ट्रिय समाजका अध्यक्ष देवीलाल सुवेदीले बताए ।रासस

You might also like

Comments are closed.