पोखरा अन्तर्राष्ट्रिय म्याराथनले पायो अन्तर्राष्ट्रिय मान्यता

पोखरा । नेपालकै जेठो म्याराथन-‘पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ले अन्तर्राष्ट्रिय मान्यता पाएको छ । विश्वभरका दौडहरु ‘वर्ल्ड रनिङ’को छाता संगठन एसोसिएसन अफ म्याराथन एण्ड डिस्टेन्स रेसेस (एम्स)को सदस्यता प्राप्तीसंगै यसले अन्तर्राष्ट्रिय मान्यता पाएको हो ।

नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुँदै आएको पोखरा अन्तर्राष्ट्रिय म्याराथनले १६औं संस्करण पार गरिसकेको छ, भने आगामी फागुन ६ गते १७औं सस्करणको तयारीमा जुटिसेको छ ।

हालै मात्रै पोखरा अन्तर्राष्ट्रिय म्याराथनको दौड रुटले मान्यता पाएको थियो भने लगतै एम्सको समेत सदस्य प्राप्त गर्न सफल भएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले बताएका छन् । “यो हाम्रो लागि निकै गर्वको विषय हो । नेपालको जेठो म्याराथनको रुपमा स्थापित पोखरा म्याराथनले अन्तर्राष्ट्रिय मान्यता पाउनु पोखरेली खेलप्रेमीहरुको लागि गौरवको विषय हो ।”

अध्यक्ष पराजुलीले पोखरा म्याराथनलाई यहाँसम्म पुर्‍याउन सहयोग गर्न देश तथा विदेशमा रहेका मञ्चका २४० भन्दा बढी आजिवन सदस्यहरु, कार्यसमितिका सदस्य, पदाधिकारी र सल्लाहाकारहरुसंगै सहयोगी मनहरुप्रति आभार व्यक्त गरेका छन् ।

उनले भने–“यो सदस्यता प्राप्त गर्नुमा सबैको उत्तिकै सहयोग र साथ छ। गण्डकी प्रदेश सरकार, पोखरा महानगर पालिका, राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी र आम पोखरेलीहरुसंग यो खुसीलाई सामुहिक रुपमा हामी बाँड्न चाहन्छौं ।”

सदस्यता प्राप्त गरेसंगै एम्सका अध्यक्ष पाको बोराओले मञ्चलाई बधाई दिंदै म्याराथनको अन्तर्राष्ट्रिय यात्रामा संग-संगै हिड्न पाउँदा खुसी लागेको बताएका छन् ।

You might also like

Comments are closed.