तनहुँ । तनहुँ मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित शुक्लागण्डकी एफ.एम. ९७.६ मेगाहर्जका अध्यक्ष पूर्णकुमार श्रेष्ठको स्मृतिमा स्थापित पूर्ण स्मृति शुक्लागण्डकी एफ.एम.सम्मान तथा पुरस्कारका लागि सम्मानित व्यक्ति छनोट गरिएको छ । पहिलोपटक प्रदान गर्न लागिएको सम्मानमा पत्रकारितातर्फ अग्रज पत्रकार विश्वबन्धु भण्डारी, साहित्यतर्फ शेषमणि आचार्य र समाजसेवातर्फ भक्तबहादुर रिमाल छनोट भएका छन् ।
पत्रकारिता र साहित्यतर्फ पुरस्कारको राशी नगद १०/१० हजार, प्रमाणपत्र र पूर्ण स्मृति सामाजिक सेवा पुरस्कार तथा सम्मानतर्फ नगद ५ हजार र प्रमाणपत्र रहेको छ । तनहुँ जिल्लाभित्र क्रियाशिल रहेका मध्ये एक जना उत्कृष्ट पत्रकारिता क्षेत्रमा लागेका व्यक्ति, तनहुँ जिल्लामा साहित्यिक क्षेत्रमा सक्रिय रहेका व्यक्ति र शुक्लागण्डकी नगर क्षेत्रमा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिबाट छनोट गरिएको हो ।
सम्मानित हुन लागेका अग्रज पत्रकार भण्डारी ४ दशकदेखि पत्रकारितामा क्रियाशिल छन् । दमौलीबाट प्रकाशित हुने भञ्ज्याङ दैनिकको संस्थापक सम्पादक भण्डारीले सम्पादकीय संग्रह भाग १ र २ प्रकाशन गरेका छन् । स्याङ्जाको हरिनाश–२ खहरेमा जन्मिएका भण्डारी हाल भिमादमा बस्दै आएका छन् ।
त्यसैगरी साहित्यतर्फ सम्मानित हुन लागेका ७३ वर्षिय आचार्य वि.स. २०२२ सालदेखि साहित्यका विभिन्न विधामा कलम चलाउन थालेका हुन् । शुक्ला साहित्य संगमका संस्थापक एवम् संरक्षक रहेका उनका आधा दर्जन कविता संग्रह र कृति प्रकाशित छन् । लमजुङको मध्यनेपाल नगरपालिकामा जन्मिएका आचार्य दुलेगौंडामा बस्दै आएका छन् ।
त्यस्तै समासेवातर्फ छनोट भएका ७७ वर्षिय रिमालले यस क्षेत्रका विभिन्न सामाजिक संघसंस्थामा क्रियाशिल रहि नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । स्व. श्रेष्ठ सञ्चार व्यवसायसँगै, समाजसेवा र साहित्य क्षेत्रमा समेत सक्रिय रहेकाले ३ विधा छनौट गरिएको हो । रेडियोका पूर्व अध्यक्ष नारायणकुमार श्रेष्ठको संयोजकत्वमा शनिवार बसेको बैठकले पुरस्कृत व्यक्ति छनोट गरेको हो ।
छनोट समिति सदस्यहरुमा रेडियोका अध्यक्ष ज्योती श्रेष्ठ, सदस्य टिकाराम श्रेष्ठ र सल्लाहकार आनन्द सुन्दर श्रेष्ठ रहेका थिए । रेडियोका सेयरधनी सदस्य, शुभेच्छुकबाट स्वतस्फूर्त र केहि रकम उनको परिवारबाट जम्मा गरि ३ लाख रुपैयाको अक्षयकोष स्थापना गरिएको हो । सोहि रकमको ब्याजबाट प्राप्त आम्दानीले प्रत्येक वर्ष ३ विधामा क्रियाशिल व्यक्तिहरुलाई पुरस्कार प्रदान गरिने रेडियोले जनाएको छ ।
रेडियोको सातौं वार्षिक साधारणसभा एवम् पाँचौ अधिवेशनको अवसरमा सोमवार दुलेगौंडामा आयोजना हुने विशेष कार्यक्रममा प्रदेशभा सदस्य श्यामराजा महतले सम्मान गर्ने कार्यक्रम रहेको सचिव ऋषेश्वर भुवाई ऋतुले जानकारी दिए ।
रेडियोको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका पूर्णको २०७८ जेठ १२ गते हृदयघातका कारण ४८ वर्षको उमेरमा निधन भएको थियो । सोहि अवसरमा रेडियोले प्रत्येक वर्ष उत्कृष्टस्रोता र विज्ञापनदातालाई सम्मान गर्ने कार्यक्रम राखिएको प्रसारण समिति संयोजक टिकाराम श्रेष्ठले जानकारी दिए ।








Comments are closed.