भक्तपुर । भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा माधव नारायण मेलाको व्रत सुरु भएको छ । नेपाल संवत्को आठौँ शताब्दीदेखि सुरु भएको व्रत एवं मेला एक महिनासम्म चल्नेछ।
हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना लाग्ने यो मेला आज हनुमानघाटस्थित त्रिवेणीधाममा स्नान गरी, सूर्यलाई अघ्र्य दिएर माधव नारायणको पूजा गरेपछि सुरु भएको माधव नारायण व्रत व्यवस्थापन समितिका अध्यक्ष उद्धव सुजखुले जानकारी दिए ।
साँखुको शालिनदीमा भन्दा पहिलेदेखि यो मेला एवं व्रत सुरु भएको शिलालेख एवं ग्रन्थमा पाइएको उनको भनाइ छ। माधव नारायणको व्रत बस्ने व्यक्तिले व्रत सुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्नुपर्ने, शङ्ख जल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शङ्ख जल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा रहेको छ ।
माघ शुक्ल पूर्णिमाका दिन नगर परिक्रमा गरी भूपतिन्द्र मल्लको मूर्तिमा इन्द्रकलश चढाएपछि एक महिने व्रत पूरा हुन्छ ।
Comments are closed.