डिजिटल प्रविधिले सेवा प्रवाहमा सहज

भोजपुर । भोजपुरका मालपोत तथा नापी कार्यालयमा सुरु भएको डिजिटल प्रविधिले सेवा प्रवाहमा सहज बनाएको छ। सरकारले लागु गरेको भूमिसम्वन्धी डिजिटल प्रविधि सेवा प्रभावकारी बनेसँगै यहाँबाट प्रवाह हुने सेवामा चुस्तता आएको हो।

यो प्रविधिबाट काम छिटो छरितो र पारदर्शी हुँदा नागरिकमा सेवाप्रति विस्वास बढेको छ। यहाँको भूमि सम्बन्धी सम्पूर्ण विवरण अनलाइनमा रहने भएकाले आवश्यक परेको बेलामा सहजरुपमा विवरण पाउन सकिने स्थानीयवासीको भनाइ थियो। प्रविधिको प्रयोगले नागरिकले पनि सहजरुपमा सेवा पाउन थालेका छन् ।

जग्गा सम्वन्धी विवरणको जानकारी लिन विगतका पुराना फाइल खोज्दा समय लाग्ने भएपनि अहिलेको प्रविधिले सहजरुपमा पाउने सकिने अवस्था बनेको सेवा लिन मालपोत कार्यालय आएका स्थानीयबासी बमबहादुर राईले बताए।

‘‘सरकारले लागु गरेको डिजिटल प्रविधिबाट काम गर्न सहज छ’’ उनले भने, ‘‘विगतमा जग्गा सम्बन्धी कारोबार गर्न निकै झन्झट थियो । यो प्रविधिको प्रयोगले जग्गामा हुने विभिन्नखाले विकृति रोक्न टेवा पुग्ने रहेछ।’’

डिजिटल प्रविधिले जग्गाको विवरण, नक्सा प्रिन्ट, नक्साङ्कनलगायत सबै काम गुणस्तरीय हुनाका साथै नागरिकलाई चाँडो सेवा प्रदान गर्न सकिने नापी कार्यालयले जनाएको छ। यो प्रविधिको प्रयोगले क्षेत्रफलमा एकरुपता हुने र प्रतिकुल समयमा पनि छिटृै नक्सा तयार गरी प्रिन्ट गर्न सकिने जिल्ला नापी कार्यालयका प्रमुख देवकुमार बस्नेतले बताए ।

यो प्रविधिबाट कुनै पनि ब्याक्तिको नाममा नेपालभर रहेको जग्गालाई सहजरुपमा पत्ता लगाउन सकिने जनाइएको छ। जग्गाधनीको विवरण अनलाइनमा राखिने भएकाले जहाँबाट पनि उनीहरुको वितरण हेर्न सकिने मालपोत कार्यालयले जनाएको छ।

You might also like

Comments are closed.