नवलपरासी । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैंडाकोट नगरपालिकाले नगरका महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहनस्वरुप रु एक लाखसम्म रकम उपलब्ध गराउने भएको छ।
साठी वर्ष उमेर पुगेर अवकाश लिने तथा कम्तीमा पाँच वर्ष सेवा गरेका महिला स्वस्थ्य स्वयंसेविकालाई प्रोत्साहनस्वरुप रकम उपलब्ध गराउन लागिएको नगरप्रमुख मदनभक्त अधिकारीले जानकारी दिए।
नगरका टोल–टोलमा सहज स्वास्थ्य सेवा पुर्याउन निःस्वार्थ भावले काम गर्दै आएका नगरका महिला स्वास्थ्य स्वयंसेविकाको कामको उच्च मूल्यांकन गर्दै उनीहरूलाई प्रोत्साहन रकम उपलब्ध गराउन लागिएको अधिकारीले बताए।
“नगर कार्यपालिकाको बैठकले नगरपालिकामा कार्य गर्दै आएका कम्तीमा पाँच वर्ष सेवा गरी ६० वर्ष उमेर पुगेर सेवाबाट अवकाश भएमा त्यस्ता महिला स्वास्थ्य स्वयंसेविकालाई रकम उपलब्ध गराउने निर्णय गरेको छ”, नगरप्रमुख अधिकारीले भने, “उनीहरूलाई प्रोत्साहनस्वरुप रु एक लाखसम्म रकम उपलब्ध गराउने निर्णय गरेका छौँ।”
महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा कम्तीमा पाँच वर्ष सेवा गर्नेलाई उनीहरूले सेवा गरेको प्रत्येक वर्षको रु पाँच हजारका दरले अधिकतम् रु एक लाखसम्म रकम उपलब्ध गराउने निर्णय भएको अधिकारीले जानकारी दिए।
Comments are closed.