खाद्यान्नमा आत्मनिर्भर बन्यो दाङ

दाङ । दाङ खाद्यान्नमा आत्मनिर्भर बनेको छ। जिल्लामा उत्पादन हुने खाद्यान्नले यहाँका जिल्लावासीलाई पुगेर बचतसमेत हुने गरेको तथ्यांकले देखाएको छ। कृषि ज्ञान केन्द्र दाङको तथ्यांकका अनुसार जिल्लामा कूल ७५ हजार नौ सय ९१ हेक्टरमा खेती गर्ने गरिएको छ।

यसमा दुई लाख ९४ हजार ७४ मेट्रिक टन उत्पादन हुने गरेको केन्द्रका कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले जानकारी दिए। उनका अनुसार जिल्लामा रहेको जनसंख्या र यहाँ उत्पादन भएको खाद्यान्नको परिणाम हेर्दा पुग्ने गर्दछ। तर सबै खाद्यान्न मानिसले उपयोग नगर्दा समस्या हुने गरेको छ।

मकैको उत्पादन राम्रो भए पनि मानिसले कम उपयोग गर्ने गरेका छन्। धेरैले धानको उपयोग धेरै गर्ने गरेका छन्। जिल्लामा उत्पादन भएको धान पहाडी जिल्लामा जाने तथा जिल्लामा बहिरी जिल्लाबाट समेत आउने गरेको छ। जिल्लामा उत्पादन भएको मोटो धान बाहिर जाने र जिल्लामा मसिनो चामल आउने गरेको पाइएको छ।

प्रतिव्यक्ति प्रशोधित खाद्यान्न वार्षिक दुई सय १ केजी आवश्यक पर्ने अर्थविज्ञ लामिछाने बताउँछन्। जिल्लामा धान, गहुँ, मकै, जौ, कोदो, फाफर उत्पादन हुने गरेको छ। केन्द्रको तथ्यांकअनुसार जिल्लामा आर्थिक वर्ष २०७८/८९ मा ३३ हजार पाँच सय ४० मेट्रिक टन खाद्यान्न बचत भएको थियो।

जिल्लामा कूल आवश्यक पर्ने प्रशोधित खाद्यान्न एक लाख ३५ हजार नौ सय ३२ मेट्रिक टन रहेको कृषि अर्थविज्ञ लामिछानेको भनाइ रहेको छ। जिल्लामा धान खेती ३९ हजार चार सय हेक्टरमा खेती हुने गरेको छ ।

You might also like

Comments are closed.