पोखरा । पोखराको सेती खोँचमा आइतबार भएको जहाज दुर्घटनामा परेका थप एक जनाको शव फेला परेको छ। दुर्घटनास्थलदेखि तीन सय मिटर तल महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले जानकारी दिए।
दुर्घटनामा परेका ७१ जनाको शव फेला परिसकेको छ। अझै एक जनाको स्थिति अज्ञात छ। गोताखोर परिचालन गरेर शवको खोजी कार्य गरिएको प्रहरी उपरीक्षक केसीले बताए। सोमबार फेला परेका शवका टुक्रा एकै व्यक्तिको हो या होइन भन्ने यकिनका लागि डिएनए परीक्षण गर्न काठमाडौंस्थित शिक्षण अस्पताल पठाइएको छ ।
“हात, करङ र टाउकाको भाग छुट्टाछुट्टै भेटिएको थियो, त्यो दुई व्यक्तिको भएको परीक्षणमा देखिएमा ७२ शव पुग्छन्, नत्र बेपत्ताको खोजीकार्य जारी रहन्छ”, प्रहरी उपरीक्षक केसीले भने। दुर्घटनामा परी ज्यान गुमाएका २२ जनाको शव परीक्षण पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल भइसकेको छ।
तीमध्ये १९ जनाको शव परिवारले बुझिसकेको जनाइएको छ। अस्पतालमा रहेका तीनमध्ये दुई जनाको शव बुधबार र एउटालाई केही दिनपछि परिवारलाई हस्तान्तण गरिने भएको छ।
सनाखत हुन नसकेका, विदेशी नागरिक र चालक दलका सदस्यको शव भने शव परीक्षणका लागि मङ्गलबार काठमाडौं पठाइएको छ। काठमाडौंदेखि पोखराका लागि उडेको यती एयरलाइन्सको जहाज आइतबार दुर्घटनामा परेको थियो। जसमा चालक दलका चारसहित ६८ यात्रु सवार थिए ।
Comments are closed.