पोखरा । हिसान गण्डकीको आयोजनामा हुने प्रथम फुटसल प्रतियोगिताको कास्की छनौट प्रतियोगिता शुक्रबारदेखि शुरु हुँदैछ। प्रतियागिताको टाइसिट बुधबार ड्र गरेको छ।
टाइसिटअनुसार बुधबारको उद्घाटन खेल मदरल्याण्ड मावि र बालोदय माविबीच हुनेछ। माघ ८ गतेसम्म सञ्चालन हुने प्रतियोगितमा हिसानमा आवद्ध २९ टिमले सहभागीता जनाएका छन्। हिसान गण्डकीको सदस्य विद्यालयबीच हुने प्रतियोगितामा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले सहभागीता जनाएका छन्।
कास्की जिल्लाबाट ८ टिम छनौट भई प्रदेशस्तरीय प्रतियोगितामा सहभागीता जनाउने छन्। कास्कीबाट ८ र अन्य जिल्लाबाट ८ गरी १६ टिमले उपाधीका लागि प्रतिस्पर्धा गर्ने छन् ।
फागुन पहिलो साता प्रदेशस्तरीय प्रतियोगिता हुने हिसान गण्डकीका अध्यक्ष रमाकान्त बरालले जानकारी दिए। प्रतियोगिताको विजेताले नगद १ लाख, मेडल, ट्रफि र उपविजेताले नगद ५० हजार, मेडल र ट्रफि प्राप्त गर्ने अध्यक्ष बरालले बताए।
पोखरा ४ गैरापाटनमा रहेको वि– फिट फुटसलमा छनौट प्रतियोगिता हुने व्यवस्थापन गरी रहेको सबिन मेमोरीयल फुटबल क्बलका अध्यक्ष सञ्जय लिगले बताए । त्यसैगरी प्रदेश स्तरीय प्रतियोगिता भने पोखरा रंगशालामा रहेको मल्टिपल हलमा हुने उनको भनाई छ।
सविन मेमोरियल क्बल राष्ट्रिय फुटसल लिगको ए डिभिजन क्बल हो। गत वर्ष पोखरामा भएको राष्ट्रिय फुटसल लिग प्रतियोगितामा देशभरबाट चौथो स्थान हासिल गर्ने सफल भएको थियो।
हिसान फुटसल प्रतियोगिताले नयाँ खेलाडी उत्पादन गर्न सहयोग गर्ने प्रतियोगिताका संयोजक सन्तोष पराजुलीले बताए। युवाहरुमा भएको खेलकुदको प्रतिभा देखाउने ठाउँ नपाएकाहरुलाई यो अवसर हुने उनको भनाई छ।
Comments are closed.