पोखरा । लेखनाथका हार्डवेयर व्यवसायीहरु र विभिन्न निर्माण सामग्री कम्पनीका वितरकहरुविच शुक्रबार अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ। व्यवसायीहरुको छाता संगठन लेखनाथ हार्डवेयर एशोसिएसनको आयोजनामा आयोजित कार्यक्रममा व्यवसायीहरुले प्रतिकुल आर्थिक अवस्थाका कारण व्यवसायमा परेको असर एवं वितरकहरुका कारण खेप्नु परेको हैरानीका विषयमा गुनासो गरेका थिए ।
कार्यक्रममा एशोसिएसनका निवर्तमान अध्यक्ष विजय गुरुङले हिजोका दिनमा कारोबारका आधारमा करोडौको सामान उधारोमा दिएर बेच्न लगाउने वितरकहरुले अहिले आर्थिक अवस्था प्रतिकुल भएको अवस्थामा धरपकडको शैली अपनाएकाले व्यवसायीहरु मर्कामा परेको बताए ।
उनले कतिपय व्यवसायीहरु व्यवसाय नै बन्द गर्नुपर्ने अवस्थामा पुगेको र कतिपय व्यवसायीहरुलाई प्रशासन लगाएर कानुनी कारवाहीको प्रक्रियासमेत अगाडि बढाइएको पाईएको बताउँदै यसले व्यवसायीहरुबीचमा त्रास उत्पन्न गराएको बताएका थिए ।
त्यस्तै पोखरा हार्डवेयर व्यवसायी एशोसियसनका अध्यक्ष पृथ्वीराज तिम्सिनाले संस्थागत पहल र सहकार्यको सिको आफुहरुले पनि गर्ने बताएका थिए । लेखनाथ उद्योग वाणिज्य संघका अधयक्ष छत्रधर आत्रेयले व्यवसायीहरुको छाता एशोसिएसन बलियो हुनुपर्ने र व्यावसायिक मर्यादा पनि कायम राख्नुपर्नेमा जोड दिएका थिए ।
त्यस्तै, व्यवसायी लक्ष्मण सुनारले आफुहरुले जुनसुकै हालतमा पनि कम्पनीलाई तिनुपर्ने रकम तिर्ने तर त्यसका निम्ति वर्तमान आर्थिक अवस्थालाई मध्यनजर गरी भाखाको अवधिको विषयमा वितरकहरुले लचकता अपनाईदिनुपर्ने बताएका थिए । उक्त अवसरमा वरिष्ठ सल्लाहकार भक्तबहादुर केसीले व्यवसायीहरुको विषयमा समस्या समाधान लागि संस्थागत पहल हुनुपर्नेमा जोड दिएका थिए ।
त्यस्तै, अशोक स्टिल्सका बजार प्रतिनिधि प्रकाश आचार्यलाई उठ्नुपर्ने रकम उठाउन कम्पनीले दबाब दिने भएकाले आफुहरुले पटक–पटक ताकेता गर्नुका साथै कानुनी बाटोसमेत अपनाउनु परेको बताए । उनले आर्थिक अवस्थाका कारण सबै क्षेत्रहरु प्रभावित भएको अवस्थामा त्यसको प्रभाव निर्माण सामग्री उत्पादन कम्पनीहरुमा पनि परेकाले खाली हात नर्फकाई दिन व्यवसायीहरुलाई अनुरोध गरे ।
त्यस्तै हामा स्टीलका निर्मल खनालले उत्पादक कम्पनी सधैं स्थायी र आफुहरु अस्थायी हुने भएकाले भोलि जुनसुकै कम्पनी र क्षेत्रमा पनि जान सकिने भएकाले आफुहरुले व्यवसायीहरुको हित र भलो चाहने बताउँदै व्यवसायीहरुले क्षणिक उत्तेजना र भावनामा बहकिएर कारोबार नगर्न र हरेक कारोबार पारदर्शी एवं सम्झौता गरेर गर्न सुझाव दिएका थिए । एशोसिएसनका अध्यक्ष ऋषिराम जमरकट्टेलको अध्यक्षतामा समपन्न कार्यक्रमको सञ्चालन महासचिव नवराज तिवारी र धन्यवाद ज्ञापन उपाध्यक्ष अर्जुन पँगेनीले गरेका थिए ।
Comments are closed.