पोखरा । पोखरा महानगरपालिका वडा नं ६ लेकसाइड स्थित उपकार बचत तथा ऋण सहकारीले वार्षिकोत्सव मनाएको छ । संस्थाले शनिबार १४ औं वार्षिकोत्सवको अवसरमा खुला रक्तदान तथा निःशुल्क रक्त जाँच शिविर आयोजना गर्यो ।
संस्थाले वार्षिक कार्यक्रम अन्तर्गत रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा आयोजना गरेको कार्यक्रममा ३९ युनिट रगत संकलन भएको छ । पोखरा ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले रक्तदाता तुलसी दाहाललाई ब्लड ब्याग हस्तारन्तरण गरी कार्यक्रमको सुरुआत गरेका थिए ।
सोही अवसरमा युआरएलको सहयोगमा मधुमेह तथा थाइराइडसम्बन्धी रक्त जाँच निशुःल्क गरिएको थियो ।
२ सय ५ जनाले निःशुल्क जाँच गरेका थिए । वडाध्यक्ष भट्टराईले सहकारीले सामाजिक उत्तरदायित्व वहन गर्दै सेयर सदस्यको जीवनस्तर उकास्न र समृद्धिका लागि योगदान गर्नुपर्ने बताए । वडा कार्यालय सहकारी र वडाका संघ संस्थासँग सहकार्य गरी अघि बढ्ने उनले बताए ।
वरिष्ठ थाइराड, मधुमेह तथा हर्मोन रोग विषेशज्ञ डा रमेशराज आचार्यले आधुनिक प्रविधि र दक्ष जनशक्तिका कारण मेडिकल क्षेत्र धेरै अघि बढिसकेको बताए । उनले मधुमेह, थाइराइड जस्ता समस्याले अनेक समस्या निम्त्याउने भएकाले सरोकारवाला सबैले यस्ता रोग नियन्त्रणका लागि काम गर्नुपर्नेमा जोड दिए ।
युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले यो प्रदेशको अग्रणी ल्याब भएकाले व्यापार विस्तार मात्र नभई सामाजिक दायित्व निर्वाहमा पनि अग्रणी हुने जमर्काे गरेको सुनाए । उनले युआरएल स्थापनाको १० वर्षमा १४२ विभिन्न संघ, संस्थासँग सहकार्य गरी निशुल्क शिविरहरु आयोजना गरिएको सुनाए ।
सहकारीका अध्यक्ष सूर्यनाथ पहारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्की सभापति डण्डराज पौडेल, माता तालबाराही आरती सेवा समिति अध्यक्ष मंगल नेपाली, शिशु स्याहार केन्द्र बैदामका अध्यक्ष संगिता बराल र संस्थाका उपाध्यक्ष दुर्गा पहारी, कोषाध्यक्ष बैकुण्ठ ढुंगाना, कार्यक्रम संयोजक माधव थापा, सचिव सुन्दरराज पहारी लगायतले बोलेका थिए ।
Comments are closed.