सातै प्रदेशबाट श्रम स्वीकृतिको कार्य सुरु

काठमाडौं । सातै प्रदेशका श्रम तथा रोजगार कार्यालयहरूबाट सोमबारबाट श्रम स्वीकृतिको कार्य सुरु भएको छ ।

काठमाडौंकेन्द्रित वैदेशिक रोजगारसम्बन्धी सबै प्रकारका सेवाहरू सोमबारदेखि सातै प्रदेशका श्रम तथा रोजगार कार्यालयबाट दिन शुरु भएको हो । योसँगै अबदेखि वैदेशिक रोजगार कार्यालय ताहाचलका अतिरिक्त श्रम तथा रोजगार कार्यालयहरू विराटनगर, जनकपुर, पोखरा, बुटवल, सुर्खेत र धनगढीबाट सेवा प्रवाह गर्न थालिएको छ ।

आजदेखि धनगढी र सुर्खेतका श्रम तथा रोजगार कार्यालयबाट वैदेशिक रोजगारसम्बन्धी सेवा प्रवाह हुन थालेका हुन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्यालले धनगढी र सुर्खेतबाट सेवा प्रवाहको शुभारम्भ गरेका छन् । यसअघि पुस २४ गते जनकपुर र विराटनगरबाट व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृतिको सुरुवात गरिएको थियो ।

श्रम स्वीकृतिका लागि समयमा नै अनलाइन आवेदन गर्न र श्रम स्वीकृति प्राप्त भएपछि मात्रै हवाई टिकट खरिद गर्न समेत मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।

धनगढी र सुर्खेतमा तयारी नपुगेको भन्दै केही दिनलाई पर सारिएको थियो । कर्मचारीहरूलाई तालिम दिने, आवश्यक स्रोत साधनको व्यवस्थापनको काम सकिएपछि आजदेखि वैदेशिक रोजगारसम्बन्धी सेवा प्रवाह गर्न थालिएको मन्त्रालयका सहायक प्रवक्ता कविराज उप्रेतीले बताए ।

श्रम तथा रोजगार कार्यालयहरूबाट अनलाईनमार्फत संस्थागत, व्यक्तिगत र पुनः श्रम स्वीकृति सेवा प्रवाह हुने हुने सहायक प्रवक्ता उप्रेतीले बताए ।मन्त्रालयले आफ्ना सेवाहरू पेपरलेस, फेसलेस र क्यासलेस बनाउँदै लैजाने रणनीति बनाएको छ ।

You might also like

Comments are closed.