पोखरा । राष्ट्रियतासहित जातीय सद्भावका लागि गठित विभिन्न क्षेत्री समाजहरुबीच वृहत एकता अभियान सुरु भएको छ। पोखरामा केन्द्रिय कार्यालय भई स्थापित क्षेत्री समाज नेपाल र काठमाडौंमा केन्द्रीय कार्यालय रहेको संयुक्त खस क्षेत्री नेपालद्वारा गठित एकता कार्यदल समितिको संयुक्त बैठक पोखरामा भएको कार्यदलका सदस्य एवं केन्द्रीय उपाध्यक्ष कृष्णबहादुर थापाले बताए।
समितिले संयुक्तरुपमा क्षेत्री एकता, दुवै समाजको सांगठनिक गतिविधिसहित आम क्षेत्रीको भावनालाई उच्च प्राथमिकतामा राखी एउटै समाजको उद्देश्यमा समेट्दै समाजभित्र रहेको चल अचल सम्पत्तिलाई सम्बन्धित जिल्लाको पूर्ण स्वामित्व रहने गरी कार्ययोजना बनाइने समाजका महासचिव केशबहादुर केसीले बताए ।
एकतामार्फत देशव्यापी क्षेत्रीको आवाज वर्गीय आरक्षणको स्थापित गर्दै जातीय आरक्षणको खारेजी माग गर्दै समुदायको विकासमा कृयाशिल हुने योजना रहेको संयुक्त खस क्षेत्री नेपालका कार्यवहाक अध्यक्ष मधुकर थापाले बताए। देशभर छरिएका अन्य समाजहरुलाई समेत एकतामा आउन आह्वानसहित समाजको निर्णयानुसार विधान मस्यौदा समाजको नाम, जिम्मेवारी बाँडफाँडलाई एकता महाधिवेशनमार्फत टुङ्ग्याउने निर्णय भएको छ।
एकता कार्यदल समितिका संयोजक एवं समाजका पूर्वअध्यक्ष प्रा.डा.चन्द्रबहादुर थापाको सभापतित्वमा भएको कार्यक्रममा संयुक्त क्षेत्रीका सहअध्यक्ष अर्जुनबहादुर अधिकारी, महासचिव रामबहादुर पाण्डे, समाजका महासचिव केशबहादुर केसी, उपाध्यक्ष कृष्णबहादुर थापालगायतले एकताको भूमिका महत्वपूर्ण रहेको बताए । एकताका लागि दुवै समजका केन्द्रीय समितिद्वारा एकता कार्यदल गठन भई विभिन्न बैठक गर्दै आएको छ।
Comments are closed.