कर्णाली प्रदेशमा छुट्टै ऊर्जा कार्यालय स्थापना हुने

जुम्ला। कर्णाली प्रदेश सरकारले जलस्रोत तथा ऊर्जा क्षेत्रको विकासका लागि छुट्टै ऊर्जा कार्यालय स्थापना गर्ने भएको छ। जलस्रोतको माध्यमबाट कर्णालीलाई समृद्ध बनाउन छुट्टै ऊर्जा कार्यालय स्थापना गर्न लागिएको कर्णाली प्रदेशका भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोतमन्त्री मङ्गलबहादुर शाहीले जानकारी दिए ।

उनले सडक गुरुयोजना बनाउन थालिएको समेत जानकारी दिए। मन्त्रालयले आज आयोजना गरेको पत्रकार भेटघाटमा उनले पूर्वाधार निर्माणमा कुनै योजना नभएको बताए।

कर्णाली सातै प्रदेशको तुलनामा समग्र सूचकमा पछि परेको भन्दै उनले समृद्धिको अभियानलाई अगाडि बढाउन वार्षिक १० हजार युवालाई रोजागारी दिने लक्ष्य राखेर कार्यदल गठन गरी अध्ययन सुरु गरिएको जनाए।

पछिल्लो समयमा कर्णालीमा बजेट कम खर्च हुनुमा प्राविधिक जनशक्ति अभाव, भौगोलिक विकटता र निर्वाचन मुख्य कारण रहेको उनको भनाइ थियो । अब प्रदेश निजामती सेवा ऐन प्रदेश सरकारले छिट्टै बनाएर प्रदेश लोकसेवा आयोगबाट कर्मचारीको पदपूर्ति गर्ने योजना राखिएको उनले बताए।

You might also like

Comments are closed.