धरान। प्रदेश १ स्तरीय पाँचौँ पुष्प व्यापार प्रदर्शनी मेला धरानमा सुरु भएको छ। “घर आँगन होस् या सडक किनारा, रोपी स्वदेशी फूल विरुवा बनाउन प्रदेश हराभरा” नाराका साथ मेला धरानमा सुरु भएको छ।
कोरोना संक्रमणका कारण गर्न नसकिएको मेला यस वर्ष धरान उपमहानगरपालिकामा प्रदेश १ का उद्योग कृषि तथा सहकारी विकासमन्त्री भक्तिप्रसाद सिटौलाले बुधबार उद्घाटन गरेका छन्। उनले फूल सुख दुःख दुवैमा चाहिने भएकाले यसको प्रवर्द्धन र व्यावसायिक रूपमा अगाडि बढाउन सके नेपालमै करोडौँ आम्दानीको स्रोत हुने बताउँदै उनले पुष्पखेतीको प्रवर्द्धन र विकासका लागि बर्सेनि अनुदान दिँदैआएको बताए ।
अनुदानका लागि पुष्पखेतीका कृषकहरूले पुष्पखेती व्यावसायिक रूपमा गर्दैछौं भनी जानकारी दिन आग्रह गर्दै पुष्पखेतीलाई प्रवर्द्धन र विकासका लागि सरकार सधैँ सहयोग गर्न तत्पर रहेको बताए।
फ्लोरीकल्चर एसोसिएसन सुनसरीले आयोजना गरेको प्रदेशस्तरीय पुष्प व्यापार मेलामा ५ सय प्रजातिका फूल प्रदर्शनीमा राखिएको फ्लोरीकल्चर एसोसिएसन नेपालको अध्यक्ष मीनबहादुर तामाङले बताए ।
अहिले देशभर ४८ जिल्लामा १७८ हेक्टर क्षेत्रफलमा ७३२ भन्दा बढी व्यवसायीहरूले पुष्प व्यवसाय गरिएको उनले बताए। जसमा ४० हजार जनाले रोजगारी पाएको उनको भनाइ छ। गतवर्ष मात्र ३६ करोड रुपियाँको फूल आयात भएको छ। १ करोड बरावरको फूल निर्यात भएको उनले बताए । पुष्प मेलामा अफिसियल एक, प्रतिस्पर्धाको एक र व्यावसायिक ४८ गरी जम्मा ५० वटा स्टल रहेको छ।
Comments are closed.