काठमाडौं । भोलि देशभरका अस्पतालमा अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द हुने भएका छ ।
राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डाक्टर जनिथलाल सिंहलगायत अन्य डाक्टर तथा स्वास्थ्यकर्मीहरु माथि प्रहरीले लाठी चार्ज गरी घाइते बनाएको घटनाप्रति विरोध जनाउँदै नेपाल चिकित्सक संघले भोलि देशभरका सरकारी र निजी अस्पताल तथा स्वास्थ्य संस्थामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।
शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डाक्टर सिंहलाई प्रहरीले कुटपिट गरेको भन्दै संघले सुरक्षाका नाममा स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा कार्यरत डाक्टर र स्वास्थ्यकर्मीलाई प्रहरीले कुटपिट गर्नु प्रहरी प्रशासनको गैर जिम्मेवारीपन र बिरामीको जीवनसँगको खेलबाड भएको जनाएको छ ।
लोकका लागि स्थापित गरिएको लोकतान्त्रिक गणतन्त्रमा नागरिकलाई सास्ती दिने, सवारीको नाममा घण्टौँ जाम गरेर दैनिक जीवन यापनमा अत्यन्तै असहज परिस्थितिको सिर्जना गर्ने जस्ता कार्य न्यायोचित नभएको संघको ठहर छ ।
त्यस्तै, डाक्टर सिंहलाई कुटपिट गरेको आरोपमा प्रहरी वरिष्ठ हवल्दार शम्भुजंग गुरुङलाई निलम्बन गरिएको छ । घटनाको अनुसन्धान गर्न गुरुङलाई निलम्बन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
Comments are closed.