देशभर होलीको रौनक, बसन्तपुरमा विदेशी पर्यटक रमाउदैँ

काठमाडौं । आज काठमाडौं उपत्यकासहित देशका पहाडी भू-भागमा होली पर्व हर्षउल्लास साथ मनाइरहेका छन् । विशेष गरी रंगहरुको पर्व भनेर पनि होलीलाई चिनाउने गरिन्छ ।

होली पर्व अथवा फागु पूर्णिमा खासगरी नेपाली तथा भारतीयहरूले प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाइने हिन्दूहरूको प्रमुख चाड हो ।असत्यमाथि सत्यको जित र हर्षका रूपमा अनि वसन्त ऋतुको उमङ्गमा मनाइने यो पर्वलाई विभिन्न स्थान र परिवेश विशेषमा फरकफरक नामले चिनिने गरेको छ ।

हिन्दू संस्कृति अनुसार त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रह्लादसंग यस चाडलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई आफ्नै बहिनी (प्रल्हादकी फुपु ) होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका आँफै आगोमा भष्म भएकी थिइन र बिष्णु भक्त प्रल्हादलाई केही नभएको त्यही दिनको सम्झनामा होली पर्व मनाउन सुरू भएको मानिन्छ ।

होलीको दिन पुरानो कटुता समाप्त गरी नयाँ प्रेमपूर्ण सम्वन्ध स्थापित गर्नु हो । देशका विभिन्न ठाउँमा विशेष कार्यक्रमको आयोजना गरेर होली मनाइँदैछ । काठमाडौंको बसन्तपुरमा होली विशेष कार्यक्रम चलिरहेको छ ।फागुन शुक्ल अष्टमीको दिन काठमाडौंको वसन्तपुर दरबार अगाडि चीर-विशेषरूपले सजाएको लिङ्गो गाडेपछि होली सुरू भएको मानिने फागुपर्व पूणिर्माको राति उक्त चीर -लिङ्गोलाई ढालेर जलाएपछि समाप्त भएको ठानिन्छ ।

बसन्तपुरमा चीर ठड्याइएको ठाउँ नजिकै होली मेला लागेको छ ।युवादेखि वृद्धसम्म होलीमा रमाइरहेका छन् ।बसन्तपुरको होलीमा सधैं जस्तो यसपटक पनि विदेशी पर्यटकको उल्लेख्य सहभागिता देखिएको छ ।त्यस्तै उपत्यकाको सुरक्षा व्यवस्थापनि कडाई गरिएको छ ।

You might also like

Comments are closed.